न्युजिल्याण्डमा चाँडै ड्राइभर लाइसेन्स पनि मोबाइल एप्ससँगै रहने भएको छ। सरकारको डिजिटल रूपान्तरण योजनाअन्तर्गत डिजिटल ड्राइभर लाइसेन्स ल्याउने तयारी भइरहेको छ।
सरकारका Chief Digital Officer पॉल जेम्सका अनुसार २०२५ को अन्त्यतिर पहिलो संस्करण सार्वजनिक गर्ने लक्ष्य कायम छ।
डिजिटल लाइसेन्स भनेको सुरक्षित र इन्क्रिप्ट गरिएको संस्करण हो जुन मोबाइल फोनमा राखिन्छ। प्रयोगकर्ताले सरकारी एप खोलेर आफ्नो डिजिटल लाइसेन्स देखाउन सक्छन्, जसलाई प्रहरी वा अन्य निकायले सजिलै भेरिफाई गर्न सक्छन्।
न्युजिल्याण्ड अटोमोबाइल एशोसिएशन (AA) का Dylan Thomsen का अनुसार प्राविधिक विकाससँगै ड्राइभरहरूका लागि यो अर्को महत्त्वपूर्ण चरण हो।
“पहिला कागजको लाइसेन्स, त्यसपछि फोटो भएको प्लास्टिक कार्ड, अनि अहिले डिजिटल रूपान्तरणतर्फको यात्रा सुरु भएको छ,” उनले भने।
अष्ट्रेलियाको New South Wales ले २०१९ मै डिजिटल लाइसेन्स प्रयोग सुरु गरिसकेको छ, र अहिले क्वीन्सल्याण्ड तथा भिक्टोरियासम्म छ।
डिजिटल लाइसेन्सको ठ्याक्कै मिति घोषणा भइसकेको छैन। तर Digitising Government मन्त्री जुडिथ कोलिन्सले २०२५ को अन्त्यअघि नै सुरु गर्ने इच्छा व्यक्त गरेकी छन्।
जेम्सका अनुसार यो काम विस्तारै र सावधानीपूर्वक अघि बढाइँदैछ। संसदमा हाल विचाराधीन Regulatory Systems (Transport) Amendment Bill ले पनि डिजिटल लाइसेन्सलाई कानुनी परिभाषामा समेट्ने प्रस्ताव गरेको छ।
एप्पल पे वा अन्य डिजिटल वालेट प्रणाली जस्तै, प्रयोगकर्ताले एकपटक रजिष्टर गरेपछि डिजिटल क्रेडेन्सियल जारी गरिन्छ। यो सिक्योर टोकन मार्फत भेरिफिकेशन हुन्छ, जसले व्यक्तिगत जानकारी साझेदारी गर्दैन।
यसका लागि सरकारले Digital Identity Services Trust Framework तयार पारेको छ, जसले अन्तर्राष्ट्रिय मापदण्ड (ISO/IEC 18013-5 र ISO 23220) अनुसार सुरक्षा सुनिश्चित गर्नेछ।
यी मापदण्डहरू एप्पल र गुगल दुवैले अपनाइसकेका छन्, जसले लगभग सम्पूर्ण स्मार्टफोन बजारलाई कभर गर्छ। डिजिटल लाइसेन्सलाई अफलाइन पनि प्रयोग गर्न सकिनेछ। तर मोबाइल हराए वा बिग्रिएमा पुनः जारी गर्नुपर्ने हुन्छ।
NZTA (Waka Kotahi) ले भने भौतिक लाइसेन्स तुरुन्तै हट्ने छैन भनेको छ। “लामो समयसम्म भौतिक लाइसेन्स पनि जारी भइरहनेछ,” यातायात मन्त्री क्रिस बिशपले बताएका छन्।