दक्षिण अफ्रिकाले महिला क्रिकेट विश्वकपमा न्युजिल्याण्डलाई ६ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ। ओपनर ताज्मिन ब्रिट्सले ८९ बलमा दमदार १०१ रन प्रहार गर्दै टिमलाई विजयी मार्गमा पुर्याइन्।
ब्रिट्सले आफ्नो पारीमा १५ चौका र १ छक्का प्रहार गरेकी थिइन्।
टस जितेर ब्याटिङ रोजेको न्युजिल्याण्डका कप्तान सोफी डिभाइनले ८५ रनको उत्कृष्ट पारी खेलेकी थिइन्। तर, टिम २३१ रनमै अलआउट भयो। दक्षिण अफ्रिकाकी स्पिनर नोनकुलुलेको म्लाबाले शानदार बलिङ गर्दै १० ओभरमा ४ विकेट मात्र ४० रनमा लिएकी थिइन् , यो उनको करियरको दोस्रो उत्कृष्ट प्रदर्शन हो।
दक्षिण अफ्रिकाले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै ४०.५ ओभरमा ४ विकेटको क्षतिमा २३४ रन जोड्यो। यसअघि पहिलो खेलमा इंग्ल्यान्डविरुद्ध मात्र ६९ रनमै समेटिएको टिमले यस पटक उल्लेखनीय सुधार देखायो।
साथै, सुने लुसले पनि नटआउट रहँदै ११४ बलमा ८३ रन जोडेकी थिइन्।
यस जितसँगै दक्षिण अफ्रिका अंकतालिकामा पाँचौँ स्थानमा पुगेको छ र अब आगामी बिहीबार भारतसँग भिड्नेछ।
उता, न्युजिल्याण्डले अघिल्लो खेलमा अष्ट्रेलियासँग ८९ रनले हार बेहोरेको थियो र अब शुक्रबार गुवाहटीमा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।


