गैरआवासीय नेपाली संघ (NRNA) न्यूजिल्याण्डले हालै नेपालमा भएका पछिल्ला घटनाहरूले न्यूजिल्याण्डमा अध्ययनरत वा अध्ययनका लागि आवेदन दिइरहेका नेपाली विद्यार्थीहरूमा परेको प्रभावबारे चिन्ता व्यक्त गरेको थियो।
यस सम्बन्धमा न्यूजिल्याण्डकी आप्रवासन मन्त्री एरिका स्ट्यानफोर्डले प्रतिक्रिया दिँदै, इमिग्रेशन न्यूजिल्याण्ड (INZ) लाई नेपालमा गत सेप्टेम्बर महिनामा उत्पन्न परिस्थितिबारे जानकारी भएको र प्रभावित विद्यार्थीहरूका लागि लचिलो र बुझ्ने दृष्टिकोण अपनाउन निर्देशन दिएको पुष्टि गरेकी छन्।
मन्त्री स्ट्यानफोर्डका अनुसार, INZ ले प्रत्येक विद्यार्थीको व्यक्तिगत परिस्थिति अनुसार निर्णय गर्ने, आवश्यक कागजात बुझाउनका लागि उचित म्याद थप्ने, र विद्यार्थीहरूको भिसा प्रक्रिया सहज रूपमा अघि बढ्न सहयोग गर्ने नीति लिएको छ।
NRNA न्यूजिल्याण्डले आप्रवासन मन्त्रालय र मन्त्री स्ट्यानफोर्डको सहयोगी तथा तत्पर प्रतिक्रियाका लागि धन्यवाद ज्ञापन गरेको छ। संघले यस कदमले न्यूजिल्याण्डमा रहेका र त्यहाँ अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूलाई ठूलो राहत मिल्ने जनाएको छ।



