न्युजिल्याण्डभरका करिब २१,००० माध्यमिक तथा क्षेत्रीय विद्यालय का शिक्षकहरूले सात दिन लामो चरणबद्ध हड्ताल गर्ने भएका छन्। यो आन्दोलन मंगलबारबाट सुरु हुनेछ।
पिपिटीए (PPTA) ले सामूहिक सम्झौता वार्तामा प्रगति नदेखिएपछि आफ्ना सदस्यबाट हड्ताल कार्यक्रमका लागि अनुमोदन प्राप्त गरेको जनाएको छ।
संघका अध्यक्ष क्रिस एबर्क्रोम्बीले भनिन्, “सरकारले सेकेन्डरी टिचर्स’ कलेक्टिभ एग्रीमेन्टको निस्कर्षका लागि कुनै ठोस प्रस्ताव वार्ता सुरु हुनुभन्दा १० मिनेटअघि मात्र पेस गर्यो, जुन महँगीनुसार तलब समायोजन र हाम्रो मुख्य मागहरू सम्बोधन गर्ने खालको छैन।”
उनका अनुसार:
प्रस्तावित तलब वृद्धि वास्तविक र अनुमानित मुद्रास्फीति दरभन्दा तल छ। शिक्षण पेशामा नयाँ जनशक्ति आकर्षण र अनुभवी शिक्षकहरूलाई टिकाइराख्न आवश्यक वातावरण सुनिश्चित गरिएको छैन। नयाँ पाठ्यक्रम र योग्यता प्रणालीमा आउन लागेको पुस्तान्तरणीय सुधारलाई ध्यानमा राखिएको छैन। विद्यार्थीको मानसिक तथा स्वास्थ्यसम्बन्धी व्यवस्थापनका लागि थप सहायक जनशक्ति माग गरिएको भए पनि सरकारको प्रस्तावले त्यस्तो आवश्यकता नदेखेको जिकिर गरिएको छ।
शिक्षामन्त्री एरिका स्टानफोर्डले सरकार वार्तामा सद्भावपूर्वक सहभागी भएको बताइन्। यद्यपि उनले स्वयं वार्तामा प्रत्यक्ष संलग्न नभएको र पब्लिक सर्भिस कमिस्नर सर ब्रायन रोच नेतृत्वमा वार्ता जारी रहेको बताइन्।
यसलाई लिएर लेबर नेता क्रिस हिप्किन्सले मन्त्री वार्ताको विवरणमा अवगत नै नभएको देखिएको भन्दै आलोचना गरे।
निर्धारित हड्ताल कार्यक्रमहरू
| मिति | कक्षा / गतिविधि | अवस्था |
|---|---|---|
| मंगलबार १४ अक्टोबर | कक्षा ७ र ९ | पढाइ बन्द |
| बुधबार १५ अक्टोबर | कक्षा ८ र १० | पढाइ बन्द |
| बिहीबार १६ अक्टोबर | कक्षा ११ र १२ | पढाइ बन्द |
| शुक्रबार १७ अक्टोबर | कक्षा १३ | पढाइ बन्द |
| बिहीबार २३ अक्टोबर | पू्र्णरूपमा देशव्यापी एकदिने हड्ताल | |
| बुधबार २९ अक्टोबर | एक्स्ट्रा–करिकुलर गतिविधिमा पूर्ण प्रतिबन्ध | |
| बुधबार ५ नोभेम्बर | अपराह्न १:१५ देखि ३:१५ सम्म राष्ट्रव्यापी दुई घण्टे हड्ताल |
पिपिटीएले चेतावनी दिएको छ कि सरकार गम्भीरतापूर्वक नआएमा आन्दोलन थप कडा कदममा प्रवेश गर्नेछ।


