झण्डै ३० वर्षदेखि भेहिकल टेस्टिङ न्युजील्याण्ड (VTNZ) मा कार्यरत तथा सात वर्षभन्दा बढी समयदेखि कार्यकारी रहँदै आएका कन्ट्री म्यानेजर ग्रेग ओ’कनरले राजीनामा दिएका छन्। कम्पनीका अनुसार यो निर्णय धेरै अघि नै योजना बनाइएको थियो र अकल्याण्डको ईस्ट तामाकीस्थित VTNZ हाईब्रुक शाखामा देखिएको परीक्षण पास गराउने नाममा भएको भनिएको घुस प्रकरणसँग यसको कुनै सम्बन्ध छैन।
VTNZ का एक प्रवक्ताले ओ’कनरको अवकाश लिने इच्छा सेप्टेम्बरमै बोर्डलाई जानकारी गराएको र अक्टोबर ७ मा स्टाफहरूलाई औपचारिक रूपमा सूचित गरिएको बताए। सोही दिन स्टफले पूर्व ड्राइभिङ टेस्ट अफिसरहरू संलग्न भएको आरोप लागेको घटनाबारे समाचार सार्वजनिक गरेको थियो।
“उहाँको राजीनामा लामो समयअघि नै योजना गरिएको हो र हाईब्रुक शाखामा भएको भनिएको घटनासँग कुनै सम्बन्ध छैन,” प्रवक्ताले स्पष्ट गरे।
उनले थपे, “VTNZ मा १००० भन्दा बढी कर्मचारी छन्। तिनमध्ये अधिकांश ईमानदार छन् र सडक तथा यात्रु सुरक्षाप्रति प्रतिबद्ध छन्। ठूलो संगठनमा कहिलेकाहीँ त्यस्ता रोजगारसम्बन्धी समस्या देखा पर्नु स्वाभाविक हो।”
ग्रेग ओ’कनरले करिब ३० वर्षको आफ्नो कार्यकालमा VTNZ को विकास र उपलब्धिहरूमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै कम्पनीले उनको योगदानप्रति कृतज्ञता व्यक्त गरेको छ। उनी सन् २०२६ को जनवरी महिनाको अन्त्यसम्म आफ्नो जिम्मेवारी सम्हाल्नेछन्, जसले उनको उत्तराधिकारीलाई जिम्मेवारी सहज रूपमा हस्तान्तरण गर्ने समय दिनेछ।
कम्पनीका अनुसार, “VTNZ ले दैनिक हजारौँ न्युजिल्याण्डवासीलाई सेवा दिइरहेको छ र ग्रेगको राजीनामाले सेवामा कुनै असर परेको छैन।”


