न्युजिल्याण्डका स्वास्थ्य मन्त्री सिमेओन ब्राउनले वरिष्ठ चिकित्सकहरूको वार्षिक सम्मेलनमा बोल्दै उनीहरूलाई ‘नैतिक सीमारेखा पार गरेको’ आरोप लगाएका छन्। वेलिङ्टनस्थित ते पापामा बिहीबार आयोजित सम्मेलनमा उनले राजनीतिक स्वार्थ अघि सारेर बिरामीलाई क्षति पुर्याएको भन्दै हड्ताल फिर्ता लिन आह्वान गरे।
मन्त्री ब्राउनले भने, “हड्ताल गर्ने तपाईँहरूको कानुनी अधिकार हो, तर यसले अब नैतिक सीमारेखा पार गरिसकेको छ।”
उनका अनुसार हड्तालका कारण हजारौं उपचार तथा सर्जरी स्थगित भए वा ढिला भएका छन्। आगामी हप्ता हुने हड्ताल अघि बढेमा ९०० भन्दा बढी शल्यक्रिया र १३८० भन्दा बढी प्रारम्भिक विशेषज्ञ जाँचहरू रद्द हुने स्वास्थ्य न्यूजिल्यान्ड (Health NZ) ले जनाएको छ।
मन्त्रीले Health NZ बाट प्राप्त जानकारी उद्धृत गर्दै वरिष्ठ चिकित्सकहरूको औसत तलब वार्षिक ३२५,००० डलर रहेको र प्रस्तावित सम्झौताले १६ करोड डलर बराबरको वृद्धि गर्ने बताए।
यस महिनाको अन्त्यतिर निर्धारण गरिएको हड्ताललाई ‘मेगा स्ट्राइक’ भनेर नाम दिइएको छ, जसलाई पछिल्ला दशककै सबैभन्दा ठूलो कदमको रूपमा हेरिएको छ। उक्त हड्तालमा अनुमानित एक लाख जना स्वास्थ्यकर्मी, नर्स, दन्त चिकित्सक, शिक्षक तथा अन्य सेवाकर्मी सहभागी हुने अपेक्षा गरिएको छ।


