सुरु भएको दुई हप्तामै करिब २०० प्यारेन्ट्स (अभिभावक) ले न्युजिल्याण्डको प्यारेन्ट्स भिसाका लागि आवेदन दिएका छन्। ‘प्यारेन्ट्स बुस्ट भिसा’ नामक यो योजना अन्तर्गत न्युजिल्याण्डका नागरिक तथा बसोबास अधिकार प्राप्त व्यक्तिहरूका अभिभावकले पाँच वर्षसम्म न्युजिल्याण्डमा बस्न पाउने व्यवस्था गरिएको छ।
पहिलो दुई साताभित्र कुल १९८ आवेदन परेको इमिग्रेसन न्युजिल्याण्डले जनाएको छ। तीमध्ये चार आवेदन ‘इन–प्रिन्सिपल’ स्वीकृत भइसकेका छन्। इमिग्रेसन भिसा निर्देशक जोक गिलरेका अनुसार यो भिसाले स्थायी आवासीय अधिकार नदिए पनि परिवारलाई लामो समयसम्म सँगै बस्न सहयोग पुर्याउने महत्त्वपूर्ण अवसर प्रदान गर्छ। “यसका लागि स्पोन्सरशिप र इन्स्योरेन्स अनिवार्य छ,” उनले भने।
सरकारले वार्षिक २ हजारदेखि १० हजारसम्म आवेदन आउने अनुमान गरेको छ। मोडेलअनुसार औसत ६ हजार आवेदन वार्षिक पर्ने अपेक्षा गरिएको छ। एक प्यारेन्ट लाई स्पोन्सर गर्न वयस्क सन्तानले न्यूनतम तलब (मेडियन वेज) कमाएको हुनु पर्नेछ भने दुवै प्यारेन्ट्स लाई स्पोन्सर गर्न एक डेढ गुणा बढी आम्दानी आवश्यक हुन्छ।
त्यसैगरी प्यारेन्ट स्वयंले न्यूनतम रिटायर्मेन्ट भत्ता (सुपरएनुएसन दर) बराबरको आम्दानी प्रमाणित गर्नुपर्छ वा पाँच वर्षको बसाइलाई धान्नका लागि कम्तीमा १ लाख ६० हजार डलरको कोष भएको देखाउनुपर्नेछ। साथै स्वास्थ्य परीक्षण लगायत अन्य मापदण्ड पूरा गर्नु पर्ने इमिग्रेसनले स्पष्ट पारेको छ।


