लेबर पार्टीले निर्वाचन नीति सार्वजनिक गर्दै “न्यूजिल्यान्ड फ्युचर फण्ड” स्थापना गर्ने घोषणा गरेको छ, जसअन्तर्गत न्यूजिल्यान्डकै पूर्वाधार र व्यवसायमा लगानी गरिनेछ। पार्टीले यसलाई “न्यूजिल्यान्डको सम्भावनामा लगानी गर्ने पहिलो कदम” भएको बताउँदै देशभर सुरक्षित र राम्रो पारिश्रमिकयुक्त रोजगारी सिर्जना गर्ने, उत्पादकत्व बढाउने र यहाँ बनेको धन यही देशमै रहने सुनिश्चित गर्ने घोषणा गरेको छ।
पार्टी नेता क्रिस हिप्किन्सले अकल्याण्डमा पत्रकार सम्मेलन गर्दै “न्यूजिल्यान्ड फ्युचर फण्ड” को घोषणा गरे, जसलाई न्यूजिल्यान्ड सुपर फण्डसँगै सञ्चालन गरिनेछ।
यस फन्डमार्फत मुलुकभित्रको पूर्वाधार विकास र नवीन सोचका कीवी व्यवसायमा लगानी गरी स्थायी, सुरक्षित रोजगारी सिर्जना गरिने बताइएको छ।
लेबर पार्टीका अनुसार, युवाहरूले विदेश जाने विकल्प रोज्नुभन्दा आफ्नै देशमै भविष्य निर्माण गर्ने वातावरण बनाउनु अहिलेको मुख्य आवश्यकता हो। “हामीले आफ्नै क्षमतालाई समर्थन गर्नु पर्छ, रोजगार सिर्जना गर्नुपर्छ र मानिसहरूलाई यहीँ बस्ने कारण दिनुपर्छ,” पार्टीले जनाएको छ।
हाल रेकर्ड संख्यामा कीवीहरू विदेशतर्फ जानेक्रम बढ्दो छ। लेबर पार्टीको आरोप छ—नेशनल पार्टीसँग अर्थतन्त्र विस्तार गर्ने स्पष्ट योजना छैन, न त रोजगारी सिर्जना गर्ने दृष्टि नै। बरु, राष्ट्रिय सम्पत्ति बेचेर र विदेशी लगानीकर्तालाई सजिलै प्रवेश गराएर देशको भविष्य सटही गर्ने तयारी मात्र भइरहेको लेबरको दाबी छ।
लेबर पार्टीले भनेको छ — “हामी भविष्य निर्माण गर्ने पक्षमा छौँ, बेच्ने होइन। न्युजिल्याण्ड फ्युचर फन्ड त्यही लक्ष्यमा उठाइएको पहिलो महत्त्वपूर्ण कदम हो।”


