न्युजिल्याण्डका विभिन्न क्षेत्रमा खराब मौसमका कारण देशभरका पार्क, सार्वजनिक स्थलहरू, र यातायात सेवामा ठूलो अवरोध सिर्जना भएको छ। लगातारको हावाहुरीले देशभरका धेरै ठूला सार्वजनिक कार्यक्रमहरू र गतिविधिहरू प्रभावित भएका छन्। अधिकारीहरूले सर्वसाधारणलाई अत्यावश्यक कारणबाहेक घर बाहिर ननिस्कन र सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन्।
MetService का अनुसार बिहीबारदेखि वेलिङ्टन, कार्टरटन दक्षिणको वाइरारापा र क्यान्टरबरीका लागि रातो स्तरको हावाको चेतावनी लागू हुनेछ। त्यसैगरी कार्टरटन उत्तरको वाइरारापाका लागि (orange) स्तरको चेतावनी जारी गरिएको छ। यो चेतावनी क्यान्टरबरी हाई कन्ट्रीमा बिहीबार बिहान १ बजेबाट सुरु हुनेछ र वेलिङ्टन तथा वाइरारापाका केही भागमा बिहान ८ बजेबाट लागू हुनेछ।
वेलिङ्टनमा जोखिम बढेसँगै वेलिङ्टन सिटी काउन्सिल ले बिहीबारका लागि सबै प्रमुख सार्वजनिक सेवा र सुविधा बन्द गर्ने निर्णय गरेको छ। साथै, सार्वजनिक यातायात सेवा पनि घटाइने भएको छ। अधिकारीहरूले सर्वसाधारणलाई अनावश्यक यात्रा नगर्न र घरमै बस्न अनुरोध गरेका छन्। बन्द हुने स्थानहरूमा पुस्तकालय, सामुदायिक केन्द्र, मनोरञ्जन केन्द्र, स्विमिङ पूल, वेलिङ्टन जू र बोटानिक गार्डेनको बेगोनिया हाउस रहेका छन्।
काउन्सिलको आपतकालीन सञ्चालन केन्द्र (Emergency Operations Centre) पनि सक्रिय गरिएको छ। नगर प्रमुखले विज्ञप्ति जारी गर्दै भनेका छन्, “हामी सबै नगरवासीहरूलाई सुरक्षित रहन आग्रह गर्छौं। बलियो हावाका कारण कुनै पनि वस्तु उड्न सक्छ, त्यसैले बाहिरका सबै सामान सुरक्षित स्थानमा राख्न आवश्यक छ।”
मौसमका कारण वेलिङ्टनभित्र र बाहिर चल्ने सबै रेल सेवाहरू बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म रद्द गरिएका छन्। त्यस अवधिमा हट भ्याली र कापिति लाइनका रेलहरूका लागि बस सेवाहरू उपलब्ध गराइनेछ। तर मेलिङ र जोन्सनभिल लाइनहरूका यात्रुहरूका लागि बस विकल्प उपलब्ध हुने छैन। वाइरारापा क्षेत्रका सबै रेल र बस सेवाहरू पनि पूरै दिनका लागि रद्द गरिएका छन्।
एयर न्यूजिल्याण्ड का प्रमुख संचालन अधिकृत एलेक्स मारन का अनुसार, “वेलिङ्टन, क्राइस्टचर्च र डुनेडिनतर्फका उडानहरूमा अवरोध आउन सक्ने सम्भावना छ। मौसम अनुसार हाम्रो टोलीले यात्रुहरूलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउने प्रयास गर्नेछ।” यात्रुहरूलाई लचिलो टिकट विकल्प प्रदान गरिएको छ। यसैबीच, Interislander फेरी सेवा भने हाल सामान्य रूपमा सञ्चालनमा रहेको जनाएको छ।
यता, देशभरका विभिन्न संघहरूले हड्ताल योजना यथावत राख्ने निर्णय गरेका छन्। खराब मौसमका बाबजुद, शिक्षक, नर्स र हजारौं श्रमिकहरू सहभागी हुने यो हड्ताल चार दशकयताकै सबैभन्दा ठूलो श्रम आन्दोलन हुने अनुमान गरिएको छ। तर खराब मौसमका कारण केही बाह्य प्रदर्शनहरू रद्द वा स्थानान्तरण गरिएका छन्। वेलिङ्टन, क्राइस्टचर्च र डुनेडिनका बाहिरी सभा र प्रदर्शनहरू रद्द गरिएका छन् भने अन्य सहरहरूमा कार्यक्रम यथावत रहनेछन्।
क्राइस्टचर्च सिटी काउन्सिल ले पनि सावधानीस्वरूप बिहीबारका लागि धेरै पार्क र मनोरञ्जन स्थलहरू बन्द गर्ने निर्णय गरेको छ। बन्द हुने स्थानहरूमा Christchurch Botanic Gardens, Mona Vale, The Groynes, Bottle Lake Forest, Spencer Park, Horseshoe Lake Dog Park, Urumau Reserve, Pony Point, Victoria Park र Diamond Harbour’s Coastal Cliffs Track समावेश छन्। काउन्सिलले नागरिकहरूलाई खुला क्षेत्रमा नगई सुरक्षित रहन आग्रह गरेको छ।
त्यसैगरी, क्यान्टरबरी, मार्लबोरो, वेलिङ्टन र हक्स बे क्षेत्रमा आगो र आतसबाजीमा पूर्ण प्रतिबन्ध लगाइएको छ। अधिकारीहरूले चेतावनी दिएका छन्— “बलियो हावाको कारण सानो स्पार्क वा आतसबाजीले पनि ठूलो आगलागी निम्त्याउन सक्छ। सर्वसाधारणले आगो नबाल्न र आतसबाजी नगर्न कडा अनुरोध गरिन्छ।”
यसरी देशका दक्षिण र तल्लो उत्तर टापुमा जारी मौसम संकटका बीच सुरक्षालाई प्राथमिकता दिँदै स्थानीय निकाय र आपतकालीन सेवाहरू सक्रिय भएका छन्। अधिकारीहरूले नागरिकहरूलाई सतर्क रहन, अनावश्यक यात्रा नगर्न, र बलियो हावाले उडाउन सक्ने वस्तुहरू सुरक्षित राख्न निरन्तर सन्देश दिइरहेका छन्।


