न्युजिल्याण्डमा आज सोमबार मौसममा तीव्र परिवर्तन देखिएपछि मौसम विभाग MetService ले देशभरका विभिन्न क्षेत्रमा भारी वर्षा, बलियो हावा र हिमपातका चेतावनीहरू जारी गरेको छ। यो शक्तिशाली आँधीले सोमबार र मंगलबार देशका धेरै भागहरूमा असर गर्ने अनुमान गरिएको छ।
MetService का अनुसार, सक्रिय न्यूनचाप प्रणाली (low-pressure system) देशका विभिन्न भागहरू हुँदै अघि बढिरहेको छ, जसले देशभरका क्षेत्रमा तीव्र वर्षा, बलियो हावा र दक्षिणी भूभागमा बाक्लो हिमपात ल्याइरहेको छ। यसले लामो बिदाको अन्त्यमा फेरि एकपटक खराब मौसमको पुनरागमन गराएको छ।
विशेष गरी पहाडी क्षेत्र, तारानाकी मौंगा, तारारुआ रेन्ज, रिचमन्ड र ब्रायन्ट रेन्ज, साथै क्यान्टरबरीका ताल र नदीका क्षेत्रहरूमा भारी वर्षाको चेतावनी जारी गरिएको छ।। केही क्षेत्रमा वर्षाको मात्रा १५० मिलिमिटरभन्दा बढी पुग्ने अनुमान गरिएको छ। त्यस्तै, वेस्टल्यान्ड, ग्रे, बुलर र पश्चिम टास्मानका पहाडी भागहरूमा पनि तीव्र वर्षाको प्रभाव देखिनेछ।
क्यान्टरबरी उच्च भूभाग (SH73 दक्षिणतर्फ) मा भने भारी हिमपातको चेतावनी जारी गरिएको छ। सोमबार दिउँसो र साँझको समयमा ५०० मिटरभन्दा माथिका भागहरूमा बाक्लो हिमपात हुने अनुमान गरिएको छ, जसले स्थानीय यातायातमा असर पुग्नेछ।
त्यस्तै, वायरारापा, तारारुआ जिल्ला र वेलिङ्टन क्षेत्रमा तीव्र हावाको चेतावनी जारी गरिएको छ।। खुला स्थानहरूमा हावाको वेग १३० किमी प्रतिघण्टासम्म पुग्ने अनुमान गरिएको छ। साथै, बे अफ प्लेण्टी, हकस बे, गिसबोर्न, साउथ तारानाकी, ताइहाप, इनल्यान्ड व्हाङ्गानुई, मार्लबोरो, नेल्सन, टास्मान, बैंक्स प्रायद्वीप र क्यान्टरबरी उच्च भूभाग मा पनि वर्षा र हावाका लागि सतर्क स्थिति घोषणा गरिएको छ।।
स्थानीय निकायहरूले अनावश्यक यात्रा नगर्न र नदी नजिकका बस्तीहरूमा सतर्कता अपनाउन आग्रह गरिएको छ।।
MetService ले नागरिकहरूलाई आगामी दुई दिनसम्म सतर्क रहन, पहाडी र तटीय क्षेत्रका यात्राहरू स्थगित गर्न, र स्थानीय प्रशासनका निर्देशनहरू पालना गर्न अनुरोध गरिएको छ।। मौसमविद्हरूका अनुसार, यो आँधीको प्रभाव अझै केही दिन कायम रहने सम्भावना रहनेछ।


