प्रधानमन्त्री लक्सनसँगको पहिलो भेटमा ट्रम्पले भने- ‘न्यूजील्याण्ड, मेरो राम्रो साथी’ – New Zealand News Nepal (NZ News Nepal)

प्रधानमन्त्री लक्सनसँगको पहिलो भेटमा ट्रम्पले भने- ‘न्यूजील्याण्ड, मेरो राम्रो साथी’

   October 30, 2025  

दक्षिण कोरियामा भइरहेको एशिया–प्यासिफिक आर्थिक सहयोग (APEC) नेतृत्व बैठकको क्रममा न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बिहीबार भेटघाट भएको छ। उक्त भेटका क्रममा प्रधानमन्त्री लक्सनले राष्ट्रपति ट्रम्पलाई अनौपचारिक रूपमा न्यूजील्याण्ड भ्रमणको निम्तो दिएका छन्।

भेटका क्रममा राष्ट्रपति ट्रम्पले न्यूजील्याण्डको प्राकृतिक सुन्दरता आफूलाई अत्यन्त मनपर्ने बताएका थिए। उनले अघिल्लो पटक न्यूजील्याण्ड भ्रमण गरेको सम्झिँदै देशका सुन्दर गल्फ मैदानहरूको पनि चर्चा गरेका थिए। त्यसै प्रसंगमा प्रधानमन्त्री लक्सनले भने, “कुनै समय न्यूजील्याण्ड आउनुहोस्, हामीसँगै गल्फ खेलौँ,” भन्दै उनलाई भ्रमणको निम्तो दिएका थिए।

दुवै नेताहरू त्यसपछि अन्य सहभागी नेताहरूसँग एकसाथ डिनर हलमा प्रवेश गरेका थिए। प्रवेशका क्रममा ट्रम्पले लक्सनतर्फ औंला देखाउँदै “न्यूजील्याण्ड, मेरो राम्रो साथी” भन्दै मुस्कुराएका थिए।

लक्सनले दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युंगसँगको भेटबारे पनि रमाइला किस्सा सुनाउँदै भने, “राष्ट्रपति लीले मेरो कपालको बारेमा जिस्क्याएका थिए।” त्यसमा ट्रम्पले हाँस्दै भने, “तपाईंको कपाल त सुन्दर छ,” जसमा लक्सनले प्रत्युत्तर दिए, “मलाई पनि त्यही लाग्छ।”

पत्रकारहरूले जब राष्ट्रपति ट्रम्पलाई न्यूजील्याण्डका लागि कुनै सन्देश छ कि भनेर सोधे, उनले क्यामेरातर्फ हेर्दै भने, “हामी मुस्कुराउँ,” र थपे, “मलाई न्यूजील्याण्डका मानिस मन पर्छन्।”

यो पहिलो पटक हो जब प्रधानमन्त्री लक्सन र राष्ट्रपति ट्रम्पबीच प्रत्यक्ष भेटघाट भएको हो। यसअघि ट्रम्पले कार्यभार सम्हालेको बेला दुवैबीच फोन संवाद मात्र भएको थियो।

डिनरमा अष्ट्रेलिया, क्यानडा, सिंगापुर, थाइल्याण्ड र भियतनामका नेताहरू पनि उपस्थित थिए। सबै नेताहरूलाई दक्षिण कोरियाली राष्ट्रपति लीले व्यक्तिगत रूपमा स्वागत गरेका थिए र त्यसपछि पारिवारिक तस्वीरको औपचारिकता सम्पन्न भएको थियो।

उक्त कार्यक्रममा प्रधानमन्त्री लक्सन क्यानडा र भियतनामका नेताबीच उभिएका थिए भने विशेष अतिथिका रूपमा राष्ट्रपति ट्रम्प बीचको स्थानमा रहेका थिए।