थाइल्यान्डको फुकेटस्थित एउटा होटल कोठामा एक न्यूजील्याण्डकी महिला नागरिक मृत फेला परेकी छन्।
फुकेट न्युजका अनुसार प्रहरीहरूले ४७ वर्षीया न्यूजील्याण्डकी पर्यटकको मृत्युको अनुसन्धान गरिरहेका छन्। ती महिला कट्टा बीच (Kata Beach) नजिकको होटलमा बसोबास गर्दै आएकी थिइन्।
प्रहरीले दिएको प्रारम्भिक फरेन्सिक रिपोर्टअनुसार मदिरा सेवन र एन्टिडिप्रेसन औषधिबीचको ‘रासायनिक प्रतिक्रिया’ का कारण श्वासप्रश्वासमा समस्या आउँदा उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ।
न्यूजील्याण्डको परराष्ट्र मन्त्रालयका प्रवक्ताले उक्त घटनाबारे पुष्टि गरेका छन्।
“थाइल्यान्डमा निधन भएकी न्यूजील्याण्डकी नागरिकको परिवारलाई बैंककस्थित न्यूजील्याण्ड दूतावासमार्फत आवश्यक सहयोग प्रदान भइरहेको छ। यस दुःखद क्षणमा हामी परिवारप्रति गहिरो संवेदना व्यक्त गर्दछौं,” प्रवक्ताले भने।
गोपनीयताका कारण थप जानकारी सार्वजनिक नगरिने बताइएको छ।


