एयर न्यूजील्याण्डदेखि प्रहरीसम्मका वेबसाइट ठप्प ! कारण यस्तो – New Zealand News Nepal (NZ News Nepal)

एयर न्यूजील्याण्डदेखि प्रहरीसम्मका वेबसाइट ठप्प ! कारण यस्तो

   October 30, 2025  

बिहीबार बिहान न्यूजील्याण्डका एयर न्यूजील्याण्ड, प्रहरी, कस्टम्स र ANZ बैंकका अनलाइन सेवाहरू ठप्प भएका छन्। हजारौं प्रयोगकर्ताहरूले वेबसाइट र मोबाइल एप नचल्ने समस्या अनुभव गरेका छन्। ANZ ग्राहकहरूले बैंकको एप पुनः नचल्ने गुनासो गरेपछि यो समस्या व्यापक बनेको छ।

सञ्चारमाध्यमका अनुसार यो अवरोध माइक्रोसफ्टको क्लाउड सेवा Azure मा भएको “inadvertent configuration change” अर्थात् अनिच्छित प्रविधिक परिवर्तनका कारण भएको हो। यसका कारण विश्वभरका हजारौं वेबसाइटहरूमा समस्या देखिएको छ। माइक्रोसफ्टले आफ्ना ग्राहकहरूलाई सेवा पुनःसञ्चालनका लागि काम भइरहेको जानकारी दिएको छ।

एयर न्यूजील्याण्डले यात्रुहरूलाई आज चेक–इन र बोर्डिङमा ढिलाइ हुन सक्ने जानकारी दिएको छ। प्रहरी विभागले पनि केही वेबसाइटहरू नचलेको बताउँदै आपतकालीन अवस्थामा १११ र सामान्य घटनाका लागि १०५ नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ। त्यस्तै, सरकारी वेबसाइटहरूमा प्रयोग हुने RealMe सेवा पनि अस्थायी रूपमा बन्द गरिएको छ, जसले IRD, आप्रवासन र कम्पनी कार्यालयका अनलाइन पहुँच प्रभावित गरेको छ।

Downdetector नामक वेबसाइटका अनुसार Xbox, Alaska Airlines र Costco लगायतका विश्वभरका ग्राहक–मुखी साइटहरूमा पनि समस्या देखिएको छ। माइक्रोसफ्टले भनेको छ कि सानो प्रविधिक परिवर्तनले विश्वव्यापी क्लाउड प्रणालीमा तत्काल असर पार्न सक्छ, किनभने सबै प्रणालीहरू आपसमा जडित छन्। कम्पनीले Azure Front Door सेवामा समस्या समाधानका प्रयास जारी रहेको जनाएको छ।

गत हप्तामात्रै अमेजनको क्लाउड सेवा AWS पनि ठप्प हुँदा विश्वभरका इन्टरनेट सेवा र बैंकिङ प्रणालीमा असर परेको थियो। अहिले माइक्रोसफ्टको Azure दोस्रो ठूलो क्लाउड सेवा प्रदायक हो, जसमा हजारौं सरकारी र निजी संस्था निर्भर छन्। माइक्रोसफ्ट अस्ट्रेलिया–न्यूजील्याण्डले भने यसबारे कुनै टिप्पणी नगरी पत्रकारहरूलाई आफ्नो Azure Support पेज हेर्न आग्रह गरेको छ।