Palmerston North को एक पबमा भीषण आगलागी, १० वटा दमकलले ल्यायो आगो नियन्त्रणमा

256 Shares

पामरस्टन नर्थस्थित पबमा लागेको ठूलो आगलागीलाई आपतकालीन सेवाका टोलीहरूले नियन्त्रणमा लिन सफल भएका छन्। फायर एण्ड इमर्जेन्सी न्यूजील्याण्डका अनुसार उक्त आगलागी बिहीबार साँझ करिब ५:१५ बजे पुरानो ‘फिट्ज बार’ (Fitz Bar) भवनमा सुरु भएको थियो।

आगो निभाउनका लागि १० वटा दमकल, एउटा कमाण्ड युनिट र एउटा सहयोगी युनिट खटाइएको थियो। आगो मूल भवनभित्रै सीमित राख्न सफल भएको फेन्जले जनाएको छ। करिब राति ९ बजेतिर उद्धारकर्मीहरूले बाँकी रहेका साना भागहरूमा लागेको आगो निभाउने कार्य सुरु गरेका थिए। भवनका केही भाग भत्काउन ठूला मेसिनहरू पनि प्रयोग गरिएको बताइएको छ।

फेन्जका प्रारम्भिक विवरण अनुसार आगलागीका कारण धेरै मात्रामा धुवाँ निस्किएको हुँदा वरपरका बासिन्दालाई उक्त क्षेत्रबाट टाढा रहन आग्रह गरिएको थियो। नजिकका बासिन्दाहरूलाई झ्याल–ढोका बन्द गर्न र सकेसम्म घरभित्रै बस्न अनुरोध गरिएको थियो ।

त्यसैगरी, पामरस्टन नर्थका बासिन्दाहरूलाई पठाइएको एक आपतकालीन सतर्कता सन्देशमार्फत पनि यही जानकारी दिइएको थियो। सन्देशमा मानिसहरूलाई आफ्नो हीट पम्प र एयर कन्डिसन प्रणाली बन्द गर्न आग्रह गरिएको थियो।

आगो नियन्त्रणमा आए पनि भवनको केही भागमा क्षति पुगेको र कारणबारे जाँच सुरु भएको फेन्जले जनाएको छ। अहिलेसम्म कुनै मानवीय क्षतिको रिपोर्ट आएको छैन।

सम्बन्धित समाचार

सबै