न्यूजिल्याण्डको आदिवासी राजनीतिक दल ते पाती माओरी (माओरी पार्टी) भित्र पछिल्ला हप्ता यता बढ्दै गएको आन्तरिक तनाव अब आउँदो महिना हुने वार्षिक महासभामा निर्णायक रूपमा प्रकट हुने अनुमान गरिएको छ।
गत निर्वाचनमा माओरी पार्टीले ऐतिहासिक सफलता हात पारेको थियो- दुई सांसदबाट वृद्धि गर्दै छ जना सांसदहरू संसदमा पठाएको र माओरी सिटमध्ये एउटाबाहेक सबै जितेको थियो। त्यसपछि यो दल माओरी अधिकार र वैटाङ्गी सन्धि संरक्षणको प्रतीकको रूपमा स्थापित हुँदै गएको थियो। अहिलेको संसदमा ते पाती माओरीका ६ जना सांसद रहेका छन् ।
तर हाल दलभित्र शान्ति र सन्तुलन कायम गर्न नसक्दा र आर्थिक अनियमितता तथा धम्कीबारेका आरोप सार्वजनिक भएपछि दल आन्तरिक कलहमा फसेको छ। पार्टीका नेताहरू र पदाधिकारीहरूलाई सोधपुछ गर्दा प्रायः कुनै ठोस प्रतिक्रिया नआएको बताइन्छ। सह–अध्यक्ष राविरी वाइटीटीले भने मिडियामाथि ट्रीटीका विषयमा ‘लगातार आक्रमण’ गरेको आरोप लगाएका छन्।
यसैबीच, दलकी सांसद मरियामेनो कापा–किङ्गीलाई पार्टीले निलम्बन गरेको विवादले झन् नयाँ मोड लिएको छ। उनको छोरा र पूर्व पार्टी कर्मचारी एरु कापा–किङ्गीले पार्टीको कार्यसमितिमाथि कानुनी कारबाहीको तयारी गर्दै ‘संविधान विपरीत कार्य गरेको’ आरोप लगाएका छन्।
माओरी पार्टीको वार्षिक महासभा डिसेम्बर ७ मा रोटोरुवामा हुने कार्यक्रम तय गरिएको छ। अहिलेको विवादले त्यो बैठक दलको भविष्यको दिशानिर्देशन गर्ने देखिएको छ।


