साउथ कोरियामा जारी APEC बैठकको क्रममा न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच संक्षिप्त भेटवार्ता भएको छ। शुक्रबार राति आर्थिक नेताहरूको गाला डिनरमा लक्सनले राष्ट्रपति सीसँग छोटो समयको कुराकानी गर्न सफल भएका थिए।
यसअघि पत्रकारहरूसँग कुरा गर्दै लक्सनले भनेका थिए कि यदि भेट हुने अवसर आयो भने उनी राष्ट्रपति सीसँग भेट गर्न चाहन्थे। उनले यसलाई प्रमुख प्राथमिकता भने नभएको स्वीकार गर्दै, राष्ट्रपति सीले पहिले नै आफ्नो समय “धेरै उदारतापूर्वक” दिएका बताएका थिए। लक्सनले भेट भएमा क्षेत्रीय विषयमा राष्ट्रपति सीको दृष्टिकोण र विचार बुझ्ने अवसर पाउने आशा राखेका थिए।
त्यसअघि, लक्सनले औपचारिक रूपमा संयुक्त अरब इमिरेट्स, ब्रुनई र इन्डोनेसियाका नेतासँग भेटवार्ता गरेका थिए। साथै नयाँ जापानी प्रधानमन्त्रीसँग पनि उनले भेट गरेका थिए।
प्रधानमन्त्री लक्सन आज साँझ न्यूजील्याण्ड फर्किनेछन्।


