अकल्याण्डका मेयर वेन ब्राउन र १९ जना काउन्सिलरहरूले लिए सपथ – New Zealand News Nepal (NZ News Nepal)

अकल्याण्डका मेयर वेन ब्राउन र १९ जना काउन्सिलरहरूले लिए सपथ

   November 2, 2025  

अकल्याण्डका मेयर वेन ब्राउन र १९ जना काउन्सिलरहरूले शुक्रबार साँझ पद तथा गोपनीयताको सपथ लिएका छन्। अकल्याण्ड टाउन हलमा आयोजित विशेष समारोहमा ‘अर्थ, विन्ड एण्ड फायर’को प्रसिद्ध गीत September बजाएर सुरु गरिएको थियो। मेयर ब्राउनले १ लाखभन्दा बढी मतान्तरले मेयर पदमा विजय प्राप्त गरेका थिए । ब्राउनले आफ्नो उद्घाटन सम्बोधनमा आगामी तीन वर्षका योजनाहरू प्रस्तुत गरे। ब्राउनले भने, “यो लामो र अनौठो ढङ्गले आयोजना गरिएको भए पनि महत्त्वपूर्ण कार्यक्रम हो। यो मेरो अवसर हो — अकल्याण्डका आगामी तीन वर्षको खाका प्रस्तुत गर्न।” उनीले अकल्याण्डको यातायात प्रणालीलाई “खराब अवस्थाबाट राम्रोतर्फ लैजाने” प्रतिवद्धता जनाए। सरकारप्रति आलोचनात्मक हुँदै उनले भने, “सरकारले अकल्याण्डलाई सम्मानपूर्वक व्यवहार गर्नुपर्ने र यसको रणनीतिक महत्त्वलाई बुझ्नुपर्ने समय आएको छ।” उनका अनुसार प्रमुख प्राथमिकतामध्ये एक “सिटी डिल” सुनिश्चित गर्नु हुनेछ।

ब्राउनले लामो समयदेखि अकल्याण्डमा ‘बेड-नाइट लेभी’ (होटल कर) लागू गर्न सरकारलाई आग्रह गर्दै आएका छन्, तर सरकारले यस प्रस्तावलाई हालसम्म अस्वीकार गर्दै आएको छ।

२०२३ मा अकल्याण्डमा आएको भीषण मौसमीय विपत्तिबारे बोल्दै उनले स्वीकार गरे, “शहर तयार थिएन, आपतकालीन निकाय तयार थिएन, मौसमविद् तयार थिएनन्, म पनि तयार थिइनँ। पाइप प्रणाली, वर्षा–नाली, परिषद्, मिडिया — कोही पनि तयारी अवस्थामा थिएन। तर हामीले ती कठिन क्षण पार गरेर सुधार गरेका छौं।” उनले हास्यात्मक रूपमा थपे, “मौसम पूर्वानुमानकर्ताहरू अहिले यति सुधारिएका छन् कि तीनवटा वर्षा घट्नासँगै ११ पटकको पूर्वानुमान गरिसकेका छन्।”

उद्घाटन समारोहमा नयाँ निर्वाचित काउन्सिलरहरू, स्थानीय अगुवाहरू र समुदायका प्रतिनिधिहरू उपस्थित थिए।