वेलिङ्टनमा बिहीबार साँझ भूकम्पको धक्का – New Zealand News Nepal (NZ News Nepal)

वेलिङ्टनमा बिहीबार साँझ भूकम्पको धक्का

   November 7, 2025  

वेलिङ्टन क्षेत्रमा बिहीबार साँझ भूकम्प आएको छ। GeoNet का अनुसार करिब ४.९ म्याग्निच्युडको मध्यम तीव्रताको यो भूकम्प राति ९:०९ बजे वेलिङ्टनबाट पश्चिमतर्फ २५ किलोमिटर दूरीमा, करिब २२ किमी गहिराइमा केन्द्रित थियो। सुरुमा यसलाई ५.१ म्याग्निच्युडको भूकम्पको रूपमा मापन गरिएको भए पनि पछि परिमाण घटाइ ४.९ मा सुधार गरिएको हो।

धेरै मानिसहरूले भूकम्प आउनुअघि नै आवाज सुनेको दाबी गरेका छन् भने केहीले मोबाइलमा ‘Earthquake Alert’ प्राप्त गरेपछि केही क्षणमै भवनहरू हल्लिएको अनुभव गरेका छन्।

Fire and Emergency New Zealand ले भूकम्पसँग सम्बन्धित कुनै पनि आकस्मिक सेवा कल नआएको पुष्टि गरेको छ।

यसपछि राति १०:२८ बजे करिब ३.५ म्याग्निच्युडको अर्को कम्पन वेलिङ्टनबाट उत्तर–पश्चिम २० किलोमिटर टाढा, २५ किमी गहिराइमा महसुस गरिएको GeoNet ले जनाएको छ। दोस्रो कम्पन करिब १५०० भन्दा बढी नागरिकहरूले महसुस गरेको रिपोर्ट गरिएको छ।

हालसम्म कुनै क्षति वा घाइतेबारे जानकारी प्राप्त भएको छैन। अधिकारीहरूले सतर्क रहन र आधिकारिक सूचनाको प्रतीक्षा गर्न आग्रह गरेका छन्।