न्यूजील्याण्ड ट्रान्सपोर्ट एजेन्सी (NZTA) ले करिब ४४० वटा नक्कली वा जालसाजी गरिएको व्यावसायिक ड्राइभर लाइसेन्स फेला पारेको छ। एजेन्सीले ती सबै लाइसेन्सहरूलाई तुरुन्तै खारेज गरेको जनाएको छ।
NZTA का अनुसार ती नक्कली कागजातहरू विदेशी ड्राइभर लाइसेन्सलाई न्यूजील्याण्डको लाइसेन्समा रूपान्तरण गर्ने प्रक्रियामा प्रयोग गरिएको थियो। रूपान्तरणका क्रममा पेश गरिएका केही कागजातहरू फरक, भ्रामक वा प्रत्यक्ष रूपमा नक्कली रहेको पुष्टि भएको हो।
यो तथ्य २०२५ को जुलाईमा भएको एक विशेष अडिट (जाँच प्रक्रिया) का क्रममा बाहिर आएको हो। अडिटमा लाइसेन्स रूपान्तरण प्रणालीभित्र दर्ता भएका केही कागजातहरू नक्कली भएको शंका लागेपछि, विस्तृत अनुसन्धान गरिएको बताइएको छ।
NZTA का भूमि यातायात उप–निर्देशक माइक हर्ग्रिभ्सका अनुसार एजेन्सीले यस्तो जालसाजी रोक्न निगरानी, पहिचान र छानबिनका प्रक्रिया कडा गरेको छ।
न्यूजील्याण्डको Land Transport Act 1998 अनुसार ड्राइभर लाइसेन्सका लागि झुठा वा गलत जानकारी पेस गर्नु अपराध मानिन्छ। यस्तो अपराधमा ७५० डलरसम्मको जरिवाना हुने व्यवस्था छ।
यद्यपि, कागजात जालसाजीको प्रकृति गम्भीर देखिएमा अझ कडा कानुनी कारबाही पनि हुन सक्ने विशेषज्ञहरूले बताएका छन्।
यस घटनापछि NZTA ले लाइसेन्स रूपान्तरण प्रणाली र दस्तावेज परीक्षण प्रक्रियालाई झन् कडा र डिजिटल रुपमा प्रमाणिकरणमुखी बनाउने तयारी गरेको छ।
यसले भविष्यमा यस्ता नक्कली लाइसेन्समार्फत भारी सवारी चलाउने जोखिम कम हुने अपेक्षा गरिएको छ।


