अकल्याण्ड क्षेत्रमा दोस्रो Costco स्टोरका लागि स्थान औपचारिक रूपमा सार्वजनिक गरिएको छ। अमेरिकी मेगा–रिटेल चेन Costco ले दक्षिण अकल्याण्डको Drury मा रहेको Kiwi Property को 6.4 हेक्टर जमिन किन्दै स्टोर विस्तार गर्ने तयारी गरेको हो।
Kiwi Property ले आफ्नो नयाँ विकास परियोजनाअन्तर्गत उक्त भू–भाग Costco लाई बिक्री गर्ने सम्झौता भएको आज पुष्टि गरेको छ। यद्यपि, स्टोर कहिले सञ्चालनमा आउने हो भन्ने बारे भने अहिलेसम्म कुनै मिति खुलाइएको छैन।
Costco का देशीय प्रबन्धक Chris Tingman ले भने, “Drury जस्तो उत्कृष्ट स्थानमा Kiwi Property सँग यो सम्झौतामा पुग्न हामी उत्साहित छौँ। आवश्यक योजनागत तथा कर्पोरेट स्वीकृतिहरू पछि, हाम्रो गुणस्तरीय र किफायती सामानहरू Drury र यसको आसपासका समुदायलाई सेवा पुर्याउन पर्खिरहेका छौँ। यसले विशेष गरी दक्षिण अकल्याण्ड, Hamilton र Waikato क्षेत्रमा रहेका हाम्रा सदस्यहरूलाई लाभ पुर्याउने छ।”
नयाँ स्टोर Drury विकास क्षेत्रको दक्षिण किनारामा, State Highway 1 नजिकै बन्नेछ।
पहिलो Costco स्टोरको सफलता
अकल्याण्डको Westgate मा रहेको पहिलो Costco स्टोर निकै लोकप्रिय बनेको छ। कम्पनीका अनुसार स्टोरले आफ्नो दोश्रो आर्थिक वर्ष (सेप्टेम्बर 2024 सम्मका 52 हप्तामा) $361.5 मिलियनको आम्दानी गरेको छ।
Kiwi Property का CEO Clive Mackenzie ले भने, “Costco ले न्यूजिल्याण्डमा प्रवेश गरेपछि उपभोक्ताहरूको उच्च रुचि पाएको छ। Drury मा विस्तार गर्दै दक्षिण अकल्याण्डमा यसको सेवा पुर्याउन सँगै काम गर्न पाऊन हामी उत्साहित छौँ।”
Drury विकास परियोजना
Kiwi Property को 53 हेक्टर क्षेत्रमा बन्ने यो परियोजना भविष्यमा आवासीय बस्ती, मिश्रित उपयोग केन्द्र तथा व्यावसायिक र सामुदायिक संरचना सहित विकसित हुँदैछ। यसमा 10,000 वर्गमीटर व्यावसायिक क्षेत्र, 56,000 वर्गमीटर रिटेल क्षेत्र र 2,000 वर्गमीटर सामुदायिक गतिविधिका लागि छुट्याइनेछ।
गत हप्ता, पूर्वाधार मन्त्री Chris Bishop ले यस विकासलाई ‘फास्ट–ट्र्याक’ स्वीकृति प्राप्त भएको घोषणा गरेका थिए।
उनका अनुसार, “यो विकास परियोजनाले आगामी 11 वर्षमा अकल्याण्डको अर्थतन्त्रमा करिब $1.45 अर्बको आर्थिक गतिविधि थप्नेछ र निर्माण तथा सम्बन्धित सेवामा करिब 3,420 पूर्ण–कालिक रोजगारी सिर्जना गर्ने अनुमान छ।”