न्यूजिल्याण्डमा स्विडेनी फर्निचर ब्रान्ड IKEA स्टोर डिसेम्बर ४ मा खुल्ने – New Zealand News Nepal (NZ News Nepal)

न्यूजिल्याण्डमा स्विडेनी फर्निचर ब्रान्ड IKEA स्टोर डिसेम्बर ४ मा खुल्ने

   November 12, 2025  

लामो प्रतिक्षापछि स्विडेनी फर्निचर र घरेलु सजावट ब्रान्ड IKEA अब आधिकारिक रूपमा न्यूजिल्याण्डमा प्रवेश गर्न तयारी भएकाे छ। कम्पनीले डिसेम्बर ४ मा अकल्याण्डको Sylvia Park मा आफ्नो पहिलो स्टोर सञ्चालनमा ल्याउने घोषणा गरेको छ। यससँगै न्यूजिल्याण्डका उपभोक्ताले विश्वभर लोकप्रिय रहेको IKEA को किफायती र आधुनिक डिजाइनका सामानहरू अब आफ्नै देशमै खरिद गर्न सक्नेछन्।

करिब ३४,००० वर्ग मिटर क्षेत्रफलमा फैलिएको यस स्टोरमा झन्डै ७,५०० भन्दा बढी उत्पादनहरू उपलब्ध हुनेछन्। लोकप्रिय flatpack फर्निचरहरूदेखि लिएर दैनिक घरायसी प्रयोगका भाँडा, सजावट सामग्री, टेक्सटाइल, भान्सा उपकरण र घर व्यवस्थित राख्ने सामग्रीहरू समेत एउटै स्थानबाट पाउन सकिनेछ। स्टोर तीन तला हुने छ, जसमा दुई तला खुद्रा बिक्रीका लागि र तल्लो तला पार्किङका लागि हुनेछ।

भित्रको शोरुममा पूर्ण रूपमा सजाइएका नमूना कोठाहरू प्रदर्शित गरिनेछन्, जसले ग्राहकलाई सामान घरमा प्रयोग गर्दा कस्तो देखिन्छ भन्ने कल्पना गर्न सजिलो बनाउनेछ। यसमा पारिवारिक भान्सा, बच्चाहरूका शयनकक्ष, साना अपार्टमेन्टको डिजाइन र बाहिरी बगैँचा तथा टेरेस सजावटसम्म समावेश रहनेछ। साथै, स्वयं–सेवा गोदाम प्रणालीले ग्राहकलाई सोही दिन flat-packed फर्निचर लिएर घर लैजान वा डेलिभरी व्यवस्था गर्न सजिलो बनाउनेछ।

अकल्याण्ड स्टोरमा विश्वमै पहिलो पटक सुरु गरिएको नयाँ IKEA रेस्टुरेन्ट अवधारणालाई पनि प्रस्तुत गरिनेछ। ४०० भन्दा बढी सिट क्षमताको यस रेस्टुरेन्टमा स्विडिस meatballs, salmon परिकार र plant-based विकल्पहरू उपलब्ध हुनेछन्, साथै न्यूजिल्याण्डका लागि विशेष मेनुहरू पनि समावेश गरिएको छ। त्यसैगरी, बिस्टरो र स्विडिस फूड मार्केटमा cinnamon scrolls, hotdogsfrozen meatballs समेत पाइनेछ।

IKEA को आगमनले न्यूजिल्याण्डको फर्निचर बजारमा नयाँ प्रतिस्पर्धा र वैकल्पिक खरिद अनुभव ल्याउने अपेक्षा गरिएको छ। उच्च मूल्य भएका आयातित फर्निचर विकल्पहरूबीच, IKEA ले किफायती मूल्यमा आधुनिक र बहुउपयोगी डिजाइनका उत्पादन उपलब्ध गराउने भएकाले ग्राहकहरूको ध्यान यसतर्फ आकर्षित हुने निश्चित देखिएको छ।