न्यूजिल्याण्डकी गभर्नर जनेरल सिन्डी किरो अन्टार्कटिकाको स्कट बेस पुगेकी छन् । उनले अन्टार्कटिकामा भइरहेको वैज्ञानिक तथा संरक्षणसम्बन्धी विभिन्न गतिविधिको अवलोकन गरिन् । उनी शुक्रबार आफ्ना पति डा. रिचर्ड डाभिससँगै अन्टार्कटिका पुगेकी थिइन्।

भ्रमणका क्रममा सिन्डी र डा. डाभिसले ऐतिहासिक स्कटको हट र शेकलटनको हट समेत अवलोकन गरे, जहाँ अन्टार्कटिक हेरिटेज ट्रस्टले गर्दै आएको संरक्षण कार्यको प्रत्यक्ष निरीक्षण गरेका थिए। ती हटहरू अन्टार्कटिकाको इतिहास र प्रारम्भिक अन्वेषण यात्रासँग जोडिएका अत्यन्त महत्वपूर्ण धरोहर मानिन्छन्।
अन्टार्कटिका न्यूजिल्याण्डका प्रमुख कार्यकारी जर्डी हेन्ड्रिक्सका अनुसार, गभर्नर जनेरललाई स्कट बेसमा आतिथ्य दिन पाउनु संस्थाका लागि सम्मानको कुरा हो। “उनको भ्रमणको मुख्य उद्देश्य अन्टार्कटिकामा हामीले गर्ने कामको दायरा बुझ्नु हो—जसमध्ये वैज्ञानिक अनुसन्धानदेखि वातावरणीय संरक्षण, ऐतिहासिक सम्पदाको जगेर्ना तथा बेसको दैनिक सञ्चालनसम्बन्धी जिम्मेवारीहरू समावेश छन्,” उनले बताए।
डेम सिन्डी किरो सन् २००३ पछि अन्टार्कटिका भ्रमण गर्ने पहिलो न्यूजिल्याण्डी गभर्नर जेनेरल बनेकी छन्। अघिल्लो दुई दशकमा उच्च पदस्थ अधिकारीको यस्तो स्तरको भ्रमण हुन नसकेकोले यसपटकको यात्रा विशेष मानिएको छ।
गभर्नर–जेनेरलको यो भ्रमणले अन्टार्कटिकामा न्यूजिल्याण्डले गरिरहेको वैज्ञानिक, वातावरणीय र ऐतिहासिक संरक्षण कार्यलाई अन्तर्राष्ट्रिय समुदायमा थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।


