इमिग्रेशन न्युजिल्याण्डले भिसा ठगी बढिरहेको पृष्ठभूमिमा एक कडा चेतावनी जारी गर्दै कुनै पनि व्यक्ति, एजेन्सी वा समूहले न्युजिल्याण्ड भिसा ‘ग्यारेन्टी’ गर्ने दावी गरेमा त्यो पूर्ण रूपमा ठगी भएको स्पष्ट गरेको छ।
इमिग्रेशन न्युजिल्याण्डले भनिएको छ,
“यदि कसैले तपाईंलाई इमेल, फोन वा टेक्स्टमार्फत भिसा दिलाइदिन्छु वा NZeTA ग्यारेन्टी गर्छु भनेर सम्पर्क गर्छ भने सावधान हुनुहोस्। न्युजिल्याण्डको कुनै पनि भिसा प्रक्रिया कसैले सुरक्षित रूपमा ग्यारेन्टी गर्न सक्दैन।”
इमिग्रेशन न्युजिल्याण्डले पाँच देशीय मन्त्रीस्तरीय साझेदारहरू (Five Country Ministerial – FCM) सँग मिलेर विश्वव्यापी रुपमा भिसा ठगीबिरुद्ध जनचेतना अभिवृद्धि गर्ने अभियान सुरु गरेको पनि जनाएको छ। यस अभियानले विश्वभरका मानिसलाई झुटा एजेन्ट, भिसा दलाल, र अनधिकृत मध्यस्थबाट बचाउन मद्दत गर्ने उद्देश्य राखेको छ।
थप भनिएको छ, “ठगीबाट जोगिन तथा अरूलाई पनि सचेत गराउन हाम्रो अद्यावधिक जानकारीहरू फलो गर्नुहोस्। कसैले पैसा लिएर भिसा मिलाइदिन्छु भनेमा तुरुन्तै त्यसलाई रिपोर्ट गर्नुहोस्।”
न्युजिल्याण्ड इमिग्रेशनले आधिकारिक वेबसाइट र अधिकृत प्रतिनिधिबाहेक कसैलाई पनि भिसा सम्बन्धी कागजात नदिन तथा व्यक्तिगत जानकारी साझेदारी नगर्न आग्रह गरेको छ।
विशेषज्ञहरूले नेपाल लगायत विश्वभर भिसा ठगीका घटना बढिरहेको भन्दै सुरक्षित रहन सबैलाई सतर्कता अपनाउन सुझाएका छन्।


