बंगलादेशमा गत वर्ष विद्यार्थी आन्दोलन दमन गरेको आरोपमा त्यहाँको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी)ले पूर्व प्रधानमन्त्री शेख हसिनालाई (फाँसी) मृत्युदण्डको सजाय सुनाएको छ।
आईसीटीको तीन सदस्यीय इजलास—न्यायाधीश गुलाम मुर्तजाको नेतृत्वमा मोहम्मद अफीउल आलम महमुद र मोहम्मद मोहितुल हक एनाम चौधरी—ले सोमबार फैसला सुनाउँदै हसिना मानवताविरुद्धको अपराधमा संलग्न भएको ठहर गरेको हो।
मुद्दामा तत्कालीन प्रधानमन्त्री हसिना, तत्कालीन गृहमन्त्री तथा तत्कालीन प्रहरी महानिरीक्षक तीनैलाई प्रतिवादी बनाइएको थियो। इजलासले तीनै जनालाई दोषी ठहर गर्दै सबैलाई मृत्युदण्डको सजाय सुनाएको छ।
फैसालामा उल्लेख भएअनुसार, विद्यार्थीहरूको आरक्षणविरुद्धको प्रदर्शन दबाउन हसिनाले सुरक्षा निकायलाई ड्रोनमार्फत आन्दोलनकारीको पहिचान गर्न निर्देशन दिएकी थिइन्। प्रदर्शनकारीहरू भेला भएको स्थलमा हेलिकोप्टरबाट बम खसाल्ने अनुमति समेत उनले दिएको अदालतको ठहर छ।
यो मुद्दामा ५४ जनाको बयान, प्रमाण र तथ्यलाई आधार बनाइएको आईसीटीले जनाएको छ। हसिना भने अदालतको सुनुवाइमा उपस्थितिअिना नै फैसला गरिएको हो। उनी हाल भारतमा बसोबास गर्दै आएकी छिन्।