कार्य स्थलमै नेपाली युवकमाथी चक्कु प्रहार भएको छ । गत बुधबार बिहान सिड्नीको भिलावुडस्थित अल्दी स्टोरमा काम गरिरहेको बखत ती नेपाली युवकमाथी हमला भएको हो । ३४ वर्षिय गुरुङ थरका युवकलाई पेटमा ६ पटकसम्म छुरा प्रहार गरिएको उनका साथीले जानकारी दिनुभयो । त्यस्तै पाखुरामा र अनुहारमा पनि गम्भीर चोट लागेको छ । यत्तिबेला लिभरपुल अस्पतालमा उपचार भइरहेको छ । अस्पताल पुगेका साथीले घाइतेलाई अप्रेसनपछि बार्डमा सारिएको र अवस्था सुधारउन्मुख रहेको जानकारी दिनुभयो । स्थानिय संचारमाध्यमको भिडियोमा चक्कु प्रहार भएको भुइभरी रगत देखिन्छ । प्रहरीले घटनामा संलग्न भएको हुनसक्ने भन्दै ३३ वर्षिय पुरुषलाई नजिकैबाट नियन्त्रणमा लिएर सोधपुछ समेत गरिहेको छ । घटना किन भयो भन्ने बारे कारण खुल्न सकेको छैन । तर, घाइतेले बताए अनुसार घटना भएको बिहान अल्दीबाट एक जना युवतीले सामान चोरेर भाग्दै उनले कराएर डर देखाएका थिए । त्यसपछि ती युवती सामान छोडेर भागेका थिए । आक्रमण हुनुमा यो घटना कारण हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ । घटना कार्य स्थलमा भएकाले उनको उपचार खर्च काम गर्ने स्थानको कभरले व्यहोर्ने अवस्था छ । साथीका अनुसार घाइते युवक हालै मात्रै ४८५ भिषा आवेदन दिएका छन् । उनको एक श्रीमती र ३ महिनाको छोरी रहेको बुझिएको छ । घाइते युवकको स्थाई घर चितवन हो भने उनी सन् २०१८ मा अष्ट्रेलिया आएका थिए ।


