भारत–न्यूजिल्यान्ड स्वतन्त्र व्यापार सम्झौताप्रति न्युजिल्यान्ड फर्स्टको कडा असहमति – New Zealand News Nepal (NZ News Nepal)

भारत–न्यूजिल्यान्ड स्वतन्त्र व्यापार सम्झौताप्रति न्युजिल्यान्ड फर्स्टको कडा असहमति

   December 22, 2025  

न्युजिल्यान्डका परराष्ट्रमन्त्री तथा न्युजिल्यान्ड फर्स्ट पार्टीका नेता विन्स्टन पिटर्सले भारत–न्यूजिल्यान्ड स्वतन्त्र व्यापार सम्झौता (FTA) प्रति गहिरो असन्तुष्टि जनाएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरिएको वक्तव्यमा उनले उक्त सम्झौता “न स्वतन्त्र न त न्यायसंगत” रहेको दाबी गरेका छन्।

पिटर्सका अनुसार यो सम्झौता न्युजिल्यान्डका लागि खराब सौदा हो, किनकि यसले आप्रवासन जस्ता संवेदनशील क्षेत्रमा धेरै छुट दिएको छ तर बदलामा न्युजिल्यान्डवासीले पर्याप्त लाभ पाउन सकेका छैनन्। विशेषगरी डेरी क्षेत्रमा भारतले भन्सार शुल्क नघटाएकाले न्युजिल्यान्डका किसानहरूका लागि यो सम्झौता हानिकारक भएको उनको भनाइ छ।

उनले राष्ट्रिय पार्टी (National) लाई हतारमा कमजोर सम्झौता नगर्न र संसद्को तीन वर्षे कार्यकाल पूरा उपयोग गरेर गुणस्तरीय सम्झौता गर्न आग्रह गरिएको बताए। तर ती आग्रहहरू बेवास्ता गर्दै सरकारले छिटो र कम गुणस्तरको सम्झौता गर्न रोजेको आरोप लगाएका छन्।

पिटर्सले क्याबिनेटमा सम्झौताको स्वीकृतिका क्रममा न्युजिल्यान्ड फर्स्टले ‘agree to disagree’ प्रावधान प्रयोग गरेको र संसद्मा कार्यान्वयनका लागि विधेयक आएमा विपक्षमा मतदान गर्ने स्पष्ट पारेका छन्।

उनका अनुसार यो सम्झौताअन्तर्गत न्युजिल्यान्डले भारतीय उत्पादनका लागि बजार पूर्ण रूपमा खोल्नेछ, तर भारतले दूध, चिज र मक्खन जस्ता प्रमुख डेरी उत्पादनमा रहेको उच्च भन्सार शुल्क घटाउने छैन। नोभेम्बर २०२५ सम्मको एक वर्षमा यस्ता डेरी उत्पादनको निर्यात मूल्य करिब २४ अर्ब डलर (कुल वस्तु निर्यातको ३० प्रतिशत) रहेको उल्लेख गर्दै उनले यसलाई न्युजिल्यान्डको पहिलो यस्तो व्यापार सम्झौता भनेका छन्, जसले प्रमुख डेरी उत्पादनलाई समेट्दैन।

पिटर्सले सम्झौतामा व्यापारसँग प्रत्यक्ष सम्बन्ध नभएका क्षेत्र—जस्तै भारतीय नागरिकका लागि नयाँ रोजगारी भिसा, विद्यार्थी काम अधिकार, तथा भारततर्फ न्युजिल्यान्डको लगानी—मा पनि गम्भीर छुट दिइएको बताएका छन्। वर्तमान श्रम बजारमा बेरोजगारी र आर्थिक दबाब रहेका बेला यस्ता प्रावधानहरू “गहिरो रूपमा अविवेकी” भएको उनको टिप्पणी छ।

यद्यपि, उनले भारत–न्युजिल्यान्ड सम्बन्ध मजबुत बनाउन न्युजिल्यान्ड फर्स्ट प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्। भारत भ्रमण, कूटनीतिक स्रोतको विस्तार, तथा भारतका विदेशमन्त्री एस. जयशंकरसँगको दीर्घकालीन सम्मानजनक सम्बन्धलाई उल्लेख गर्दै उनले सम्झौताप्रतिको असहमति भारत सरकार वा वार्ताकारप्रति आलोचना नभएको बताए।

अन्त्यमा पिटर्सले न्युजिल्यान्ड फर्स्टको व्यापार सम्झौताप्रतिको धारणा दीर्घकालीन, सिद्धान्तनिष्ठ र स्थिर रहेको उल्लेख गर्दै, न्युजिल्यान्डवासीका लागि वास्तविक लाभ दिने सम्झौतामात्र समर्थन गरिने र नदिने सम्झौतामा विरोध जारी रहने बताएका छन्।