न्यूजील्याण्डको Fire and Emergency New Zealand (FENZ) ले उच्च आगलागी जोखिमलाई मध्यनजर गर्दै देशका केही लोकप्रिय बिदा मनाउने क्षेत्रमा आतसबाजी (fireworks) प्रयोग गर्न प्रतिबन्ध लगाएको छ। यस सूचीको शीर्षमा कोरोमण्डल रहेको छ।
पहिलेदेखि नै लागू भइसकेको यो प्रतिबन्ध जनवरी ३० सम्म कायम रहनेछ। यस अवधिमा करिब ८० हजार मानिस कोरोमण्डेल क्षेत्रमा पुग्ने अनुमान गरिएको छ।
यसैगरी, सेन्ट्रल ओटागो, लेक्स डिस्ट्रिक्ट र अपर वाइटाकी क्षेत्रमा पनि आज बिहानदेखि निजी आतसबाजीमा प्रतिबन्ध लागू गरिएको छ, यद्यपि यसको अन्त्य मिति भने अझै तोकिएको छैन। FENZ का अनुसार स्वीकृत सार्वजनिक आतसबाजी कार्यक्रमहरू भने सञ्चालन गर्न पाइनेछ, तर घरआँगनमा गरिने निजी आतसबाजी पूर्ण रूपमा निषेध गरिएको छ।
FENZ वाइकाटो जिल्ला प्रबन्धक ड्यारिल ट्रिमले हालको मौसम अवस्था अत्यन्त जोखिमपूर्ण रहेको बताए।
“लगातार तातो र हावाहुरीयुक्त दिनका कारण वनस्पति अत्यधिक सुकिसकेको छ। यहाँको झाडी तथा झारपात सुक्दा छिट्टै आगो लाग्ने खालको हुन्छ,” उनले भने।
“आतसबाजीबाट निस्किने एउटा सानो झिल्कोले पनि विनाशकारी डढेलो निम्त्याउन सक्छ।”
यो चेतावनी कोरोमण्डेलमा आतसबाजीकै कारण हालै दुईवटा आगलागी भइसकेपछि आएको हो। यस्तो घटना कसैको पनि गर्मी बिदाको सम्झना बन्न नचाहने FENZ को भनाइ छ।
“हाम्रो देशको यो सुन्दर क्षेत्र जोगाउन सबैले आ–आफ्नो भूमिका खेलौँ,” ट्रिमले आग्रह गरे।
दक्षिणतर्फ, कार्यवाहक FENZ ओटागो प्रबन्धक क्रेग गोल्डले यस्ता घटनाबाट दमकलकर्मीहरू दिक्क भइसकेको बताए।
“हरेक वर्ष मानिसहरूले चलाएको आतसबाजीका कारण लाग्ने आगो निभाउन हाम्रो दमकल टोलीले सबै काम छोडेर खटिनुपर्छ,” उनले भने। विशेषगरी नयाँ वर्षको समयमा पुराना गाइ फक्स (Guy Fawkes) का आतसबाजी प्रयोग गर्दा समस्या बढ्ने गरेको उनले उल्लेख गरे।
“यस वर्ष हामी स्थानीय बासिन्दा र पर्यटक सबैलाई स्पष्ट सन्देश दिन चाहन्छौँ— जिम्मेवार बनौँ,” गोल्डले भने।
FENZ को सन्देश स्पष्ट छ— आगलागीका कारण कसैको बिदा, घर वा प्रकृति नष्ट नहोस् भनेर सबैले सतर्कता अपनाउन जरुरी छ।


