उज्यालो नेपाल पार्टी (उनेपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच सहकार्य नहुने निश्चित भएको छ। आइतबार राति रास्वपा सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उनेपाका संरक्षक कुलमान घिसिङबीच भएको छलफल सहमतिविहीन रूपमा टुंगिएको उनेपाका एक नेताले जानकारी दिए।
ती नेताका अनुसार वार्ताका क्रममा रास्वपातर्फबाट शक्ति बाँडफाँटको यस्तो प्रस्ताव आएको थियो, जसलाई उनेपाले अपमानजनक मानेको छ। “२० प्रतिशतभन्दा पनि कम हिस्सामा मिलौँ भन्ने प्रस्ताव आयो, जुन हाम्रो हैसियत र योगदानको अवमूल्यन हो,” उनले बताए। सो प्रस्तावलाई कुलमान घिसिङले स्पष्ट रूपमा अस्वीकार गरेका थिए।
आइतबार रातिको बैठकपछि सोमबार बिहान थप निर्णायक छलफल गर्ने सहमति भए पनि रवि लामिछाने र बालेन्द्र शाहबीच अहिलेसम्म कुनै संवाद नभएको पनि ती नेताले बताए।
रास्वपासँग सहकार्य सम्भव नदेखिएपछि कुलमान घिसिङसहित उज्यालो नेपाल पार्टीका नेताहरू अब आफ्नै तयारीमा जुटेका छन्। पार्टीले समानुपातिकतर्फका उम्मेदवारको टुंगो लगाउने प्रक्रिया अघि बढाइसकेको जनाएको छ।
उज्यालो नेपाल पार्टीका प्रवक्ता डा. राजु थापाले भने, “अब हामी स्वतन्त्र रूपमा अगाडि बढ्ने निष्कर्षमा पुगेका छौँ। समानुपातिक बन्दसूची छुट्टै तयार पारेर पेस गर्ने तयारी भइरहेको छ।”
यसैबीच, बालेन्द्र शाहका विश्वासपात्रमध्येका एक नेताले आइतबारको वार्तामा बालेन र काठमाडौँ महानगरका प्रतिनिधिहरू कुलमान घिसिङलाई समेट्न अत्यन्त लचक देखिए पनि रवि लामिछाने त्यसमा सहमत नदेखिएको दाबी गरे।


