न्युजिल्याण्डमा २०२६ निर्वाचन वर्ष सुरु भएसँगै सरकारले यसै महिनाभित्र आम निर्वाचनको मिति घोषणा गर्न सक्ने अड्कलबाजी सुरु भएको छ । विगतका निर्वाचनहरूको अभ्यास हेर्दा पनि जनवरी वा फेब्रुअरी महिनामै प्रधानमन्त्रीले निर्वाचन मिति सार्वजनिक गर्ने परम्परा देखिन्छ, जसका कारण यसपटक पनि चाँडै औपचारिक घोषणा हुने अपेक्षा गरिएको छ ।
सन् २०२३ को आम निर्वाचनका लागि तत्कालीन प्रधानमन्त्री जसिन्डा आर्डर्नले १९ जनवरी २०२३ मा निर्वाचन मिति घोषणा गरेकी थिइन् । सो घोषणा अनुसार निर्वाचन १४ अक्टोबर २०२३ मा सम्पन्न भएको थियो । त्यसैगरी सन् २०२० को निर्वाचनका लागि पनि प्रधानमन्त्री आर्डर्नले २८ जनवरी २०२० निर्वाचन मिति घोषणा गर्दै १९ सेप्टेम्बर २०२० मा मतदान हुने जानकारी दिएकी थिइन् । यद्यपि, कोभिड–१९ महामारीका कारण उक्त निर्वाचन पछि सारेर अक्टोबरमा सम्पन्न गरिएको थियो ।
सन् २०१७ को निर्वाचनका लागि तत्कालीन प्रधानमन्त्री बिल इङ्ग्लिसले १ फेब्रुअरी २०१७ आम निर्वाचन २३ सेप्टेम्बर २०१७ मा हुने घोषणा गरेका थिए । त्यस्तै, सन् २०११ को निर्वाचनका लागि प्रधानमन्त्री जोन कीले २ फेब्रुअरी २०११ मा निर्वाचन मिति सार्वजनिक गर्दै २६ नोभेम्बर २०११ मा मतदान हुने जानकारी दिएका थिए ।
यी सबै उदाहरणले देखाउँछ कि न्युजिल्याण्डमा आम निर्वाचनको मिति प्रायः वर्षको सुरुवाती महिनामै घोषणा गरिँदै आएको छ । यही परम्परालाई निरन्तरता दिँदै वर्तमान सरकारले पनि यसै महिनाभित्र निर्वाचन मिति सार्वजनिक गर्न सक्ने राजनीतिक विश्लेषकहरूको अनुमान छ ।
निर्वाचन मिति घोषणासँगै राजनीतिक दलहरू औपचारिक रूपमा चुनावी मोडमा प्रवेश गर्नेछन् भने नीति, नेतृत्व र सम्भावित गठबन्धनबारे बहस अझ तीव्र बन्नेछ । अब सबैको ध्यान सरकारको औपचारिक घोषणातर्फ केन्द्रित भएको छ ।


