बुद्ध एयरको एक विमान भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेमा चिप्लिँदा ठूलो दुर्घटना हुनबाट जोगिएको छ।
शुक्रबार बेलुका काठमाडौँबाट यात्रु लिएर भद्रपुर पुगेको बुद्ध एयरको 9N–AMF कलसाइनको विमान अवतरणका क्रममा चिप्लिएर करिब २०० मिटर पूर्वतर्फ सरेर विमानस्थल नजिकैको सानो खोल्सासम्म पुगेको सुरक्षा स्रोतले जानकारी दिएको छ।
झापाका प्रहरी प्रमुख एसपी राजन लिम्बुका अनुसार विमान सवा ९ बजेतिर अवतरण गरेको थियो। अवतरणका क्रममा विमानको अगाडिको भाग माटोमा धस्किँदा सामान्य क्षति पुगेको भए पनि विमानमा सवार चालक दलका सदस्यसहित सबै यात्रु सकुशल रहेका छन्। अहिलेसम्म कुनै पनि मानवीय क्षति नभएको प्रहरीले पुष्टि गरेको छ।
घटनालगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली उद्धार कार्यमा खटिएको छ। यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने काम भइरहेको र स्थिति पूर्ण रूपमा नियन्त्रणमा रहेको जनाइएको छ।
विमान चिप्लिनुको कारणबारे प्राविधिक छानबिन सुरु गरिएको छ। प्रारम्भिक जानकारीअनुसार रनवे चिप्लो भएका कारण समस्या आएको हुनसक्ने अनुमान गरिएको छ।
घटनापछि भद्रपुर विमानस्थलमा केही समय उडान तथा अवतरण प्रभावित भएको छ भने विस्तृत विवरण आउन बाँकी रहेको सुरक्षा निकायले जनाएको छ।


