डुनेडिनका पूर्व मेयर जुल्स राडिचको निधन

242 Shares

डुनेडिनका तथा पूर्व मेयर जुल्स राडिचको निधन भएको छ। हिजो हृदयाघात भएपछि गम्भीर अवस्थामा डुनेडिन अस्पताल लगिएका राडिचको आज दिउँसो करिब १२:५० बजे परिवारको उपस्थितिमै निधन भएको डुनेडिन सिटी काउन्सिलले जनाएको छ। राडिच ७१ वर्षका थिए ।

काउन्सिलका अनुसार राडिचको परिवारले यस दुःखद् घडीमा गोपनीयताको अनुरोध गरेको छ। स्थानीय राजनीतिक वृत्तमा उनको निधनप्रति गहिरो शोक व्यक्त गरिएको छ।

राडिच सन् २०१९ मा सिटी काउन्सिलरमा निर्वाचित भएका थिए। एक कार्यकाल काउन्सिलरका रूपमा सेवा गरेपछि उनले सन् २०२२ मा भएको स्थानीय निर्वाचनमा आरोन हकिन्सलाई पराजित गर्दै डुनेडिनका मेयर बनेका थिए।

गत वर्ष मेयर पद गुमाए पनि राडिच पुनः सिटी काउन्सिलरका रूपमा निर्वाचित भएका थिए। मेयरको कार्यकालमा उनले नयाँ डुनेडिन अस्पताल निर्माणका विषयमा गरेको सक्रिय वकालतका कारण प्रशंसा र आलोचना दुवै पाएका थिए।

अन्ततः सरकारबाट अस्पताल परियोजनाका लागि व्यापक रूपमा स्वीकार्य निर्णय आएको थियो।

यसका साथै उनले सेन्ट क्लेयर बीचमा ग्रोइन (समुद्री संरचना) पुनःस्थापनाको माग गरे पनि त्यो प्रयास सफल हुन सकेन। स्टेट हाइवे वनको एकतर्फी सवारी प्रणाली डुनेडिन हुँदै कायम राखिनुपर्छ भन्ने उनको वकालत भने सफल रह्यो।

सम्बन्धित समाचार

सबै