प्रधानमन्त्री बन्न यस्तो छ बालेन्द्र शाहको तयारी – New Zealand News Nepal (NZ News Nepal)

प्रधानमन्त्री बन्न यस्तो छ बालेन्द्र शाहको तयारी

   January 13, 2026  

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह माघ ४ गते काठमाडौं महानगर प्रमुखको पदबाट राजीनामा दिएर आगामी आम निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बन्ने तयारीमा छन्। उनी तराई–मधेशदेखि पहाडी क्षेत्रसम्म चुनावी सभामा सम्बोधन गर्ने योजना बनाइरहेका छन्।

काठमाडौं महानगरको चुनावमा कालो चश्मा, कालो कोट र कालो टिसर्टसहितको पोसाकमा प्रचार गर्नु भएका शाह यसपटक नयाँ अवतारमा देखिने तयारी गर्दै छन्। उनी निकटकाअनुसार चार प्रकारका पोसाक सिलाएका छन्। पहिलो पोसाकको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै उनले ‘शुभकामना सबैलाई, हामी आउँदैछौं’ लेखेर आगामी चुनावी अभियानको संकेत दिएका छन्।

शाह निकटका नेताहरूका अनुसार, चुनावी प्रचारमा उनी क्षेत्र अनुसार फरक पोसाक लगाउने योजना बनाइरहेका छन्। तराई–मधेशका जिल्लामा शाह कुर्ता–पाइजामा, पहाडी जिल्लामा दौरा–सुरुवाल र टोपी, र परम्परागत नेवारी पोसाक पनि लगाउने तयारीमा छन्।

माघ ४ गते महानगर प्रमुख पदबाट राजीनामा दिएपछि उनी रास्वपा कार्यालय प्रवेश गर्ने तयारीमा छन्। उम्मेदवारी दर्ता गर्नु अघि जनकपुरमा रास्वपाले आयोजना गर्ने चुनावी सभामा सभापति रवि लामिछानेसहित शाहले पनि सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ। त्यसपछि झापा पुगेर सम्भावित रूपमा झापा–५ बाट उम्मेदवारी घोषणा गर्न सक्ने सम्भावना छ।

उनी निकटकाहरूका अनुसार, शाह आगामी चुनावमा ७७ जिल्लामा भ्रमण गर्ने कार्यक्रममा छन्। कतिपयले मत बढी हुने ठाउँमा चुनाव लड्न सुझाएका छन् भने केपी ओलीको निर्वाचन क्षेत्र भएकाले कडा प्रतिस्पर्धा हुने ठाउँमा नजाने सल्लाह पनि दिइएको छ।