‘असामान्य गन्ध’ महसुस भएपछि एयर क्यानडाको विमान अकल्याण्ड फर्कियो

277 Shares

अकल्याण्डबाट क्यानडाको भ्यान्कुभर गइरहेको एयर क्यानडाको उडानमा ‘असामान्य गन्ध’ महसुस भएपछि विमान टेकअफ गरेलगत्तै अकल्याण्ड अन्तर्राष्ट्रिय विमानस्थल फर्किएको छ।

एसी–४० (AC40) उडान मंगलबार दिउँसो २ बजे प्रस्थान गर्ने तालिकामा रहे पनि २:५१ बजे मात्रै अकल्याण्डबाट उडेको थियो। फ्लाइटअवेयरका अनुसार उक्त विमान साँझ ४:०२ बजे पुनः अकल्याण्डमै अवतरण गरेको हो।

एयर क्यानडाले पाइलटहरूले फ्लाइट डेकमा असामान्य गन्ध महसुस गरेपछि सुरक्षाका कारण विमान फर्काइएको जनाएको छ। कम्पनीका अनुसार विमान सामान्य रूपमा सुरक्षित अवतरण गरिएको छ र हाल मर्मत तथा प्राविधिक टोलीद्वारा विस्तृत जाँचका लागि सेवा बाहिर राखिएको छ।

एयर क्यानडाका प्रवक्ताले यात्रुहरूलाई अन्तिम गन्तव्यसम्म पुर्‍याउन पुनः बुकिङको व्यवस्था गरिँदै गरिएको जानकारी दिनुभयो। सो विमान बोइङ ७८७ ड्रीमलाइनर थियो, जसमा २६९ यात्रु र १४ जना चालकदल सदस्य सवार थिए।

अकल्याण्ड विमानस्थलका प्रवक्ताले उडान फर्किने क्रममा विमानस्थलको आपतकालीन सेवा सतर्क अवस्थामा राखिएको र विमान सुरक्षित अवतरण गरेपछि सेवा हटाइएको बताए।

फ्लाइटराडार २४ का अनुसार अकल्याण्डबाट भ्यान्कुभरसम्मको औसत उडान समय करिब १३ घण्टा हुने गर्दछ।

सम्बन्धित समाचार

सबै