नेतृत्व परिवर्तन र पार्टी रुपान्तरणको मागलाई बेवास्ता गरिएपछि नेपाली कांग्रेस विभाजनमा पुगेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको समूहले महामन्त्री गगन थापा, प्रवक्ता विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई पाँच वर्षका लागि पार्टी कारबाही गरेको छ । यसैबीच विशेष महाधिवेशनले नयाँ सभापति चयनको प्रक्रिया अघि बढाउँदै गगन थापालाई नेतृत्वमा ल्याउने तयारी गरेको छ । देउवाको नेतृत्वमा आगामी चुनावमा जान नसकिने भन्दै विशेष महाधिवेशन पक्षधर नेताहरूले लामो समयदेखि नेतृत्व हस्तान्तरणको माग गर्दै आएका थिए । तर सभापति देउवा पद छोड्न तयार नभएपछि अन्ततः पार्टी विभाजनको अवस्था सिर्जना भएको हो । पार्टीभित्र रुपान्तरण चाहने र यथास्थिति जोगाउन चाहनेबीचको संघर्ष क्रमशः तीव्र हुँदै विभाजनको तहमा पुगेको कांग्रेस नेताहरूको बुझाइ छ । केन्द्रीय समितिले थापा, शर्मा र मन्सुरमाथि पार्टी अनुशासन उल्लङ्घन गरेको आरोप लगाउँदै कारबाही गरेको हो । कारबाहीको घोषणापछि गगन थापाले नेपाली कांग्रेस कुनै व्यक्तिको निजी सम्पत्ति नभएको टिप्पणी गरेका छन् । उनले कांग्रेस इतिहास र आन्दोलनबाट बनेको पार्टी भएको उल्लेख गर्दै आफू त्यसैको उत्तराधिकारी भएको दाबी गरे । संस्थापन पक्षले पार्टीलाई चुनावमा लैजानुपर्ने संवेदनशील समयमा विशेष महाधिवेशन सम्भव नरहेको अडान लिँदै आएको थियो । त्यसअनुसार केन्द्रीय कार्यसमितिले नियमित महाधिवेशनको मिति वैशाखको अन्तिम साता तय गरेको थियो । तर पार्टीका करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग औपचारिक रूपमा उठाएका थिए । नियमित महाधिवेशनको मिति घोषणा भइसकेपछि विशेष महाधिवेशन हुन नसक्ने दाबी गर्दै संस्थापन पक्ष आफ्नो अडानमा अडिग रह्यो । यता विशेष महाधिवेशन पक्षधरहरूले पार्टी विधानमै व्यवस्था भएकाले उक्त मागलाई बेवास्ता गर्न नमिल्ने तर्क प्रस्तुत गरेका थिए । पुस २८ भित्र विशेष महाधिवेशन बोलाउन माग गर्दै दिएको निवेदनको समयसीमा सकिन लागेपछि पक्षधर नेताहरूले जसरी पनि महाधिवेशन गर्ने निर्णय लिए । सोही निर्णयअनुसार विशेष महाधिवेशनको प्रक्रिया अघि बढाइयो । महाधिवेशन चलिरहेकै बेला पार्टीलाई विभाजनबाट जोगाउन विभिन्न चरणमा वार्ताका प्रयास गरिए । दुवै पक्षले वार्ता टोली गठन गरी सन्देश आदान–प्रदान गरे पनि अडानमा कुनै सहमति नजुट्दा अन्ततः नेपाली कांग्रेस विभाजनमा पुगेको हो ।


