साहसी बालेन: ओलीविरुद्ध झापा–५ बाटै चुनाव लड्ने, कस्तो भइरहेको छ तयारी – New Zealand News Nepal (NZ News Nepal)

साहसी बालेन: ओलीविरुद्ध झापा–५ बाटै चुनाव लड्ने, कस्तो भइरहेको छ तयारी

   January 16, 2026  

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले फागुन २१ गतेका लागि तय प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै तयारीलाई तीव्र बनाएका छन्। उनी झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने तयारीमा रहेको चर्चा छ।

झापा–५ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र तथा गृहनगरसमेत हो, जहाँबाट ओली निरन्तर चुनाव लड्दै आएका छन्। सोही कारण उम्मेदवारीको अन्तिम निर्णय गर्नुअघि बालेनले आफ्नो कोर टिमलाई झापा पठाएका छन्।

बिहीबार बालेनको टोलीका चार सदस्य झापा पुगेका छन्। उक्त टोलीले शुक्रबारदेखि विशेष अध्ययन तथा राजनीतिक माहोल बुझ्ने अभियान सुरु गर्नेछ। उम्मेदवारी दर्ता गर्नुअघि क्षेत्रको वस्तुस्थिति बुझ्न टोली पठाइएको बालेनको सचिवालयका एक सदस्यले नेपालखबरलाई जानकारी दिए।

‘भोलिदेखि हाम्रो चुनावी तयारीको काम सुरु हुन्छ। मनोनयनअघि आवश्यक गृहकार्य गर्छाैँ,’ टोलीका एक सदस्यले भने, ‘यथासम्भव वास्तविक अवस्था पहिचान गरेर रिपोर्ट पठाउँछौँ।’

पहिलो पटक प्रतिनिधि सभा निर्वाचनमा होमिन लागेका बालेनले झापा–५ जस्तो प्रतिस्पर्धात्मक क्षेत्र रोज्नु अनावश्यक जोखिम भएको भन्दै आलोचना पनि भइरहेको छ।

‘आन्तरिक टिमले सर्वेक्षण गरिरहेको छ, भोलिसम्म सकिन्छ,’ सचिवालयका ती सदस्यले बताए।

यसबीच बालेनलाई महोत्तरीबाट पनि उम्मेदवारी दिन प्रस्ताव आएको बताइएको छ। तर, झापा–५ मै उम्मेदवारी दिने लगभग टुंगो लागेको सचिवालयको भनाइ छ।

‘अब झापा–५ नै अन्तिम हुने सम्भावना बढी छ,’ ती सदस्यले थपे।

काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिनुअघि पनि बालेनले लामो समय तयारी गरेका थिए। यसपटक पनि उनले झापामा विभिन्न टोली परिचालन गरेका छन्। कोर टिमको रिपोर्ट प्राप्त भएपछि मात्र उनी स्वयं झापा जाने कार्यक्रम रहेको बताइएको छ।

‘मनोनयन दर्ता गर्नुअघि विशेष तयारी हुन्छ,’ सचिवालयका सदस्यले भने, ‘त्यसपछि मात्र मेयर साब झापा आउनुहुन्छ।’

बालेनले माघ ५ गतेदेखि औपचारिक चुनावी अभियान सुरु गर्ने तयारी गरेका छन्। सुरुमा जनकपुरमा विशेष कार्यक्रम रहेको र त्यसपछि मात्र उनी झापा जाने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ। सम्भवतः माघ ६ गते उनी झापा पुग्नेछन्।

झापामा खटिएको टोलीले चार दिनसम्म अध्ययन गरेर रिपोर्ट पठाएपछि बालेनले आफ्नो निर्वाचन क्षेत्रको औपचारिक घोषणा गर्ने तयारी गरेका छन्। उक्त जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने योजना पनि रहेको छ। उम्मेदवारी दर्तापछि मात्र घरदैलो अभियान सुरु गर्ने उनको रणनीति छ।

‘उम्मेदवारी दिएपछि मात्र चुनावी अभियान सुरु हुन्छ,’ सचिवालयका ती सदस्यले भने, ‘कोर टिममा ६–७ जना रहनेछन्।’

यसपटक पनि बालेनले घरदैलो अभियानलाई मुख्य प्राथमिकतामा राख्ने भएका छन्।

यसैबीच, बालेनलाई सहयोग गर्दै आएका निर्देशक निश्चल बस्नेत हाल झापामै रहेका छन्। उनी बालेनकै चुनावी तयारीका लागि त्यहाँ पुगेको चर्चा छ।

यसअघि अध्ययन टोलीले दिएको सुझावका आधारमा बालेन प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुने मनस्थितिमा पुगेको सचिवालयका सदस्यहरू बताउँछन्।

झापा–५ मा बालेनका लागि सम्पर्क कार्यालय स्थापना गर्ने र बसोबासको व्यवस्था मिलाउने काम पनि सुरु भइसकेको छ।

काठमाडौँ महानगरपालिकामा कांग्रेस–एमाले गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै मेयर बनेका बालेन यसपटक पनि ‘हेभीवेट’ नेताविरुद्ध नै चुनावी प्रतिस्पर्धामा उत्रिने तयारीमा छन्।