गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिक मान्यता दिने निर्वाचन आयोगको निर्णय – New Zealand News Nepal (NZ News Nepal)

गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिक मान्यता दिने निर्वाचन आयोगको निर्णय

   January 17, 2026  

निर्वाचन आयोगले गगन थापाको नेतृत्वमा रहेको नेपाली काग्रेसलाई आधिकारिक दलका रूपमा मान्यता दिने निर्णय गरेको छ।

शुक्रबार बसेको आयोगको बैठकले गगन थापाले नेतृत्व गरेको पक्षलाई नै नेपाली कांग्रेसको वैधानिक नेतृत्व ठहर गरेको हो। यस निर्णयसँगै पार्टीको चुनाव चिह्न ‘रुख’ र चारतारे झण्डा अब गगन थापा नेतृत्वको कांग्रेसले प्रयोग गर्नेछ।

पुस २७ गतेदेखि बिहीबार बिहानसम्म सञ्चालन भएको दोस्रो विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापाको पक्षमा कांग्रेसको ऐतिहासिक उत्तराधिकार औपचारिक रूपमा सरेको छ।

निर्णयअघि आज दुवै पक्षका नेता तथा कार्यकर्ताले निर्वाचन आयोग पुगेर आफ्ना–आफ्ना तर्क र प्रमाण प्रस्तुत गरेका थिए। निर्णय सार्वजनिक भएसँगै आयोग परिसर बाहिर शेरबहादुर देउवा र गगन थापा पक्षका समर्थकहरूको उपस्थिति देखिएको छ।

निर्णयपछि गगन थापा पक्षका समर्थकहरू खुसी देखिएका छन् भने देउवा पक्षधरहरूले विरोधस्वरूप नाराबाजी गरिरहेका छन्। यस अवस्थालाई ध्यानमा राख्दै आयोग परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको छ।

यसअघि आजै सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै देउवा नेतृत्वको कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले यदि आफूहरूलाई आधिकारिक मान्यता नदिइए देशव्यापी आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए।

सभापति शेरबहादुर देउवाको सहमतिबिनै विशेष महाधिवेशन आयोजना गरिएको भन्दै कांग्रेसभित्रको विवाद चर्किएको हो। काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न सो महाधिवेशनले गगन थापालाई पार्टी सभापति चयन गरेको थियो।

उता, देउवा पक्षले उक्त विशेष महाधिवेशनलाई अवैधानिक ठहर गर्दै गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलगायत नेताहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो। यही घटनाक्रमपछि नेपाली कांग्रेस विभाजनको अवस्थासम्म पुगेको हो।