काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आज मेयर पदबाट राजीनामा दिएर राष्ट्रिय राजनीतिमा सक्रिय हुने तयारी गरेका छन्। स्रोतका अनुसार स्थानीय तहमा स्वतन्त्र छविका साथ नेतृत्व गर्दै आएका बालेन अब राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मार्फत संसदीय राजनीतिमा प्रवेश गर्न लागेका हुन्।
उनी रास्वपाबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बन्ने तयारीमा छन्। मेयर पदमा रहँदाको स्वतन्त्र पहिचानलाई कायम राख्नका लागि उनले आजै औपचारिक रूपमा राजीनामा बुझाउने तयारी गरेका छन्। यद्यपि, रास्वपाको वरिष्ठ नेताको रूपमा सहमति भए पनि बालेन हालसम्म पार्टीका औपचारिक कार्यक्रममा सहभागी भएका छैनन्।
स्रोतका अनुसार बालेनले आज मध्यान्ह काठमाडौँ महानगरपालिकाको कार्यकक्षबाटै राजीनामा दिनेछन्। राजीनामा दिएलगत्तै उनी रास्वपाको केन्द्रीय कार्यालय ‘घण्टीघर’ पुग्ने कार्यक्रम रहेको छ।
मेयरको जिम्मेवारीबाट मुक्त भएपछि सोही दिन चमतीस्थित रास्वपाको केन्द्रीय कार्यालयमा उनलाई पार्टीले विशेष स्वागत गर्ने तयारी गरेको छ। त्यही अवसरमा उनले पार्टीको चुनावी अभियानको आधिकारिक कमाण्ड सम्हाल्ने कार्यक्रम तय भएको स्रोतले जनाएको छ।


