चुनावी वर्षको पहिलो सम्बोधनमा प्रधानमन्त्री लक्सनले के भने ?

259 Shares

न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले चुनावी वर्षको पहिलो महत्वपूर्ण सम्बोधनमा आफ्नो सरकारले कुनै पनि “फजुल र विलासी” चुनावी वाचा नगर्ने स्पष्ट पारेका छन्। अकल्यान्डको नयाँ इन्टरनेशनल कन्भेन्सन सेन्टरमा आयोजित State of the Nation सम्बोधनमा उनले राष्ट्रिय पार्टी (नेशनल) नेतृत्वको सरकारले कडाइका साथ बजेट अनुशासन कायम राख्दै सुधार र विकासको वर्तमान योजनाबाट विचलित नहुने बताए।

व्यवसायी समुदायलाई लक्षित गर्दै अकल्यान्ड बिजनेस च्याम्बरद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री लक्सनले आफ्नो सरकारको उपलब्धि र सुधार कार्यक्रमको बचाउ गरे। पुनः सत्ता प्राप्त गरे पनि नेशनलले हालको नीतिगत दिशालाई निरन्तरता दिने उनको प्रतिबद्धता थियो। नेशनल पार्टीले ‘आधारभूत कुरा सुधार, भविष्य निर्माण’ भन्ने नाराका साथ चुनावी तयारी गरिरहेको उल्लेख गर्दै उनले विगत दुई वर्ष आधारभूत समस्याको समाधानमा केन्द्रित रहेको बताए।

“दुई वर्षसम्म नेशनलले आधारभूत कुराहरू सुधार गर्‍यो। अब यो चुनावी वर्षमा हामी भविष्य निर्माण गर्ने साहसी योजनाका साथ जनतामाझ जानेछौँ, जसले आगामी पुस्ताका लागि समृद्धि र अवसरको विरासत छोड्नेछ,” प्रधानमन्त्री लक्सनले भने। यद्यपि सम्बोधनको अधिकांश हिस्सा अझै पनि ‘आधार सुधार’ मै केन्द्रित रह्यो।

बढ्दो बेरोजगारी, अनुमानभन्दा ठूलो बजेट घाटा र सन्तुलित बजेट (surplus) सन् २०२९–३० सम्म पछाडि सरेको अवस्थाका बाबजुद लक्सनले महँगी दर र ब्याजदर घट्दै गएको तथा व्यवसायिक आत्मविश्वास बढेको तथ्यलाई सरकारको प्रगतिको संकेतका रूपमा प्रस्तुत गरे। “म पहिलेभन्दा बढी विश्वस्त छु कि आर्थिक पुनरुत्थान सुरु भइसकेको छ, र किवीहरूले अघिल्लो वर्षभन्दा उज्यालो वर्षको अपेक्षा गर्न सक्छन्,” उनले भने।

गत वर्षको State of the Nation सम्बोधनमा २०२५ लाई ‘विकासको वर्ष’ घोषणा गरेका लक्सनले यसपटक आर्थिक पुनरुत्थान ढिलो भएकोप्रति व्यवसायीको असन्तुष्टि आफूले बुझेको बताए। तर, ठूलो वित्तीय प्रोत्साहन वा आप्रवासन खुला गरेर घरजग्गाको मूल्य कृत्रिम रूपमा बढाउने सुझावहरूलाई अस्वीकार गर्दै उनले विगतको ‘सुगार-रश अर्थतन्त्र’ दोहोर्याउन नहुने चेतावनी दिए।

प्रधानमन्त्रीले अर्थमन्त्री निकोला विलिसले वार्षिक करिब ११ अर्ब डलरको बचत सुनिश्चित गरेको उल्लेख गर्दै यस वर्षको बजेट पनि सोही दिशामा केन्द्रित हुने बताए। “दीर्घकालीन आर्थिक सुधारका लागि न्युजील्याण्डले आफ्नो वित्तीय स्थिति व्यवस्थित गर्नैपर्छ। त्यसैले यस वर्ष पनि थप बचत हुनेछ र कुनै पनि फजुल चुनावी वाचाको ठाउँ रहने छैन,” लक्सनले स्पष्ट पारे।

अन्तर्राष्ट्रिय अस्थिरता, विशेषगरी इन्डो–प्यासिफिक क्षेत्रमा बढ्दो सुरक्षा जोखिमको सन्दर्भमा उनले रक्षा खर्च र स्वतन्त्र व्यापार सम्झौतामा सरकारको लगानी उचित रहेको बताए। साथै, शिक्षामा भएको प्रगतिबारे चर्चा गर्दै एनसीईए (NCEA) प्रणाली खारेज गर्ने प्रक्रिया अपेक्षाभन्दा ढिलो हुने संकेत पनि दिए।

कानुन र सुव्यवस्थाका क्षेत्रमा ‘थ्री स्ट्राइक’ नीति पुनः लागू गर्नु र ग्याङ प्याच प्रतिबन्धजस्ता कदमले “उल्लेखनीय” परिणाम दिएको दाबी प्रधानमन्त्रीले गरे। यद्यपि यो नेशनल पार्टीको कार्यक्रम भएकाले उनले गठबन्धन साझेदार एसीटी र न्युजील्याण्ड फर्स्टको नाम उल्लेख गरेनन्।

सम्बोधनमा कुनै नयाँ नीतिगत घोषणा नभए पनि पुनः निर्वाचित भएमा किवीसेभरको डिफल्ट योगदान दर बढाउने प्रतिबद्धता उनले दोहोर्याए। यसैबीच, यसै साता नेशनल सांसदहरू क्राइस्टचर्चमा भेला हुने र त्यही अवसरमा प्रधानमन्त्री लक्सनले आम निर्वाचनको मिति घोषणा गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

सबै