मौसमको कहर: नर्थ आइल्याण्डका विभिन्न क्षेत्रमा आपतकाल

194 Shares

न्युजील्याण्डका विभिन्न क्षेत्रमा आएको भीषण मौसमका कारण बे अफ प्लेन्टी, कोरोमण्डेल, हौराकी जिल्ला, व्हाङ्गारेई तथा गिस्बोर्न/ताइ राव्हिति क्षेत्रमा सावधानीका रूपमा आपतकालीन अवस्था घोषणा गरिएको छ। लगातारको भारी वर्षा, बाढी र पहिरोको जोखिम बढेपछि स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ। थेम्स–कोरोमण्डेल जिल्लाको पूर्वी तटीय क्षेत्रमा बाढी आएपछि दर्जनौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। घर तथा सडकहरू डुबानमा परेका छन् भने आपतकालीन सेवाहरू निरन्तर रूपमा उद्धार र राहत कार्यमा जुटिरहेका छन्। प्रभावित क्षेत्रका बासिन्दालाई अनावश्यक यात्रा नगर्न र आधिकारिक सूचनामा ध्यान दिन अनुरोध गरिएको छ। यसैबीच, उत्तरी अकल्यान्डको वार्कवर्थ क्षेत्रमा बाढीले बगाउँदा एक व्यक्ति र उनको कार बेपत्ता भएका छन्। खोज तथा उद्धार कार्य तीव्र पारिएको भए पनि खराब मौसमका कारण चुनौतीपूर्ण बनेको अधिकारीहरूले जनाएका छन्। कोरोमण्डेल प्रायद्वीप, टोलागा बेबाट उत्तरतर्फको गिस्बोर्न र रोटोरुआसहितको बे अफ प्लेन्टी क्षेत्रमा रेड हेभी रेन चेतावनी जारी गरिएको छ। यद्यपि, यसअघि फार नर्थका लागि जारी गरिएको रेड चेतावनी भने हाल समाप्त भएको छ। अकल्यान्ड र ग्रेट बेरियर आइल्याण्डमा भने ओरेन्ज हेभी रेन चेतावनी कायमै छ। त्यस्तै, मापुआको पश्चिमी भागसहित टास्मान, टोलागा बेको दक्षिणतर्फको गिस्बोर्न र हकस बेमा पनि ओरेन्ज चेतावनी जारी गरिएको छ। भारी वर्षाका कारण व्हिटियाङ्गास्थित SH25 सडक दुवै छेउबाट बन्द गरिएको छ। यातायात अवरुद्ध भएपछि यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न र स्थानीय निकायको निर्देशन पालना गर्न आग्रह गरिएको छ। मौसम अझै केही समय प्रतिकूल रहने पूर्वानुमान रहेकाले सतर्कता अत्यन्त आवश्यक रहेको अधिकारीहरूले बताएका छन्।

सम्बन्धित समाचार

सबै