निरन्तर परेको भारी वर्षाका कारण जमिन भासिन थालेपछि न्युजील्याण्डको Mount Maunganui अस्थायी रूपमा बन्द गरिएको छ। Mount क्षेत्रमा ठूलो पहिरो खसेपछि सर्वसाधारणका लागि पूर्ण रूपमा बन्द गरिएको छ। अर्को सूचना नआएसम्म Mauao मा प्रवेश गर्न नपाइने जनाइएको छ।
सार्वजनिक सुरक्षालाई ध्यानमा राख्दै Mount का सबै पदमार्ग, प्रवेशद्वार तथा वरपरका क्षेत्रहरू बन्द गरिएको छ। क्षतिको विस्तृत मूल्याङ्कन भइरहँदा प्रमुख प्रवेश बिन्दुहरूमा बार लगाइँदैछ भने सबै बन्द स्थानमा सूचना बोर्ड र अवरोधहरू राखिएको छ। बन्द क्षेत्रको निगरानी तथा सुरक्षा सुनिश्चित गर्न सुरक्षाकर्मीसमेत खटाइने बताइएको छ।जोखिम बढेपछि स्थानीय निकायले सुरक्षाको कारण देखाउँदै उक्त क्षेत्र सर्वसाधारणका लागि बन्द गर्ने निर्णय गरेको हो।
Bay of Plenty क्षेत्रमा पछिल्ला दिनहरूमा लगातार परेको वर्षाले पहाड आसपासको भू–भाग कमजोर बनेको र कतिपय स्थानमा जमिन खस्ने (landslide) सम्भावना देखिएको बताइएको छ। यसले पैदल यात्रु, पर्यटक र स्थानीय बासिन्दाको सुरक्षामा खतरा बढाएको अधिकारीहरूले जनाएका छन्।
सुरक्षा मूल्याङ्कन पूरा नहुँदासम्म माउन्ट माउङ्गानुई क्षेत्रमा प्रवेश निषेध गरिएको छ। मौसम सुधार र भू–प्राविधिक परीक्षणपछि मात्र पुनः खोल्नेबारे निर्णय हुने जनाइएको छ।
स्थानीय प्रशासनले जोखिमयुक्त क्षेत्रमा नजान, चेतावनी सूचनाहरू पालना गर्न र आपतकालीन सूचनामा ध्यान दिन सर्वसाधारणलाई आग्रह गरेको छ।
Bay of Plenty को Papamoa क्षेत्रमा एक घरमाथि पहिरो खस्दा दुई जना बेपत्ता भएका छन् भने एक जना गम्भीर घाइते भएका छन्। घटनालगत्तै आपतकालीन सेवाका टोलीहरू घटनास्थलमा खटिँदै खोजी तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ।
यसैबीच, Te Araroa मा आएको बाढीका कारण घरका छानामा फसेका मानिसहरूलाई सुरक्षित स्थानमा सार्न हेलिकप्टर परिचालन गरिएको छ। निरन्तरको भारी वर्षाले नदी तथा खोलाहरू उर्लिँदा स्थानीय बासिन्दा उच्च जोखिममा परेका छन्।
मौसमको प्रत्यक्ष प्रभाव Bay of Plenty क्षेत्रमा परेको छ। यहाँ करिब १० हजार मानिस विद्युत् सेवाबाट वञ्चित भएका छन्। विद्युत् प्राधिकरणले क्षतिग्रस्त संरचना मर्मत गरी सेवा पुनःस्थापना गर्ने प्रयास जारी राखेको जनाएको छ।
यातायात सेवासमेत गम्भीर रूपमा प्रभावित भएको छ। Paeroa नजिकै State Highway 2 बन्द गरिएको छ भने State Highway 25 का विभिन्न खण्ड बन्द हुँदा Whitianga बाहिरी क्षेत्रसँग पूर्ण रूपमा कटिएको छ। साथै State Highway 35 पनि अझै सञ्चालनमा आउन सकेको छैन।
यद्यपि North Island भरि जारी गरिएको रातो भारी वर्षा चेतावनी हटाइएको छ, तर Gisborne, Bay of Plenty, Coromandel, Hauraki District र Whangarei मा सावधानीस्वरूप आपतकालीन अवस्था कायमै राखिएको छ। अधिकारीहरूले नागरिकलाई अनावश्यक यात्रा नगर्न र सुरक्षित स्थानमा रहन आग्रह गरेका छन्।