न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले North Island मा मौसमका कारण विभिन्न स्थानमा खतरनाक अवस्था सिर्जना भएको र सरकारले प्रभावित सबै क्षेत्रका नागरिकलाई सहयोग गर्न सक्दो सबै प्रयास गरिरहेको छ।
प्रधानमन्त्री लक्सनले पछिल्ला २४ घण्टादेखि आपतकालीन व्यवस्थापन मन्त्री Mark Mitchell सँग निरन्तर रूपमा ब्रिफिङ लिँदै आएको र देशभरिका अवस्थालाई नजिकबाट अनुगमन गरिरहेको जानकारी दिएका छन्। विशेषगरी Mount Maunganui मा देखिएको गम्भीर घटनालाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री मिचेल स्वयं घटनास्थलमै उपस्थित रहेको पनि प्रधानमन्त्रीले बताएका छन्।
प्रधानमन्त्रीले आपतकालीन उद्धारकर्मी, रक्षा बलका सदस्यहरू तथा नागरिकको सुरक्षाका लागि ज्यान जोखिममा राखेर खटिएका सबैप्रति देशभरिका जनताको तर्फबाट आभार व्यक्त गरेका छन्। “जनताको सुरक्षाका लागि जोखिम मोलेर काम गर्ने सबैप्रति सम्पूर्ण देश कृतज्ञ छ,” प्रधानमन्त्री लक्सनले बताएका छन्।
सरकारले प्रभावित क्षेत्रका बासिन्दालाई स्थानीय निकाय र आपतकालीन सेवाले दिएको निर्देशन कडाइका साथ पालना गर्न पुनः आग्रह गरेको छ। आवश्यक तथा अद्यावधिक जानकारीका लागि सम्बन्धित Civil Defence को स्थानीय वेबसाइट हेर्न अनुरोध गरिएको छ।
भीषण मौसमको प्रभाव अझै कायमै रहेकाले North Island का विभिन्न क्षेत्रमा सतर्कता अपनाउन र अत्यावश्यक बाहेकका यात्रा नगर्न अधिकारीहरूले सुझाव दिएका छन्।