अष्ट्रेलियामा बाढीको बितण्डा, ३ दर्जन नेपालीको बिचल्ली – New Zealand News Nepal (NZ News Nepal)

अष्ट्रेलियामा बाढीको बितण्डा, ३ दर्जन नेपालीको बिचल्ली

   March 3, 2022  

लगातारको झरीले अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा बाढीको प्रकोप बढाएको छ । सिड्नीबाट झण्डै ७ सय ३४ किलोमिटर उत्तर पश्चिममा पर्ने लिजमोर क्षेत्रमा बाढीका कारण झण्डै ३ दर्जन नेपालीको बास उठेको छ । विद्यार्थी र अस्थाई भिषामा रहेका नेपालीहरु भाडामा बस्दै आएको झण्डै १५ भन्दा बढी घर डुबानमा पर्दा उनीहरुको बास खोसिएको हो । अहिले उनीहरुले अन्य नेपाली र भारतिय साथीको घरमा आश्रय लिइरहेका छन् । लिजमोरकी अश्मिता गुरुङले आफु समेत गरि १२ जना नेपालीले स्थानिय रोशन खड्काको घरमा आश्रय लिइरहेको बताउनुभयो । त्यस्तै बिक्रम गौतमको घरमा १६, झराना मगरको घरमा ३ र एक स्थानिय भारतियको घरमा ६ जना नेपालीले आश्रय लिइरहेको गुरुङले नेपालट्युबलाई जानकारी दिनुभयो । स्थानिय भारतिय साथीको घरमा आश्रय लिइरहनु भएका शिव श्रेष्ठले अधिकांश विद्यार्थी र अस्थाई भिषावाला भएकाले समस्या झनै थपिएको बताउनुभयो । फेब्रअरी २८ तारिख बिहान साढे २ बजेतिर खोलाको बाध नाघेर पानी बस्तीमा पस्न थालेको श्रेष्ठले बताउनुभयो । बस्ती नजिकै रहेको विल्सन रिभरको १२ मिटरभन्दा अग्लो बाध कटेर पानी वस्तीमा पसेपछि बिहान ५ बजेतिर अधिकांश घर डुबेको हो । घरभित्रै पानी पसेपछि महत्वपुर्ण कागजपत्र च्यापेर केही नेपालीहरु घर छोडेर निस्कन सफल भएका थिए भने, अधिकांशले नागरिकता, पासपोर्ट र शैक्षिक प्रमाणपत्र समेत निकाल्न पाएनन्  ।