न्युजिल्याण्डको मौजुदा संसद अक्टोबर १ मा बिघटन हुने – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डको मौजुदा संसद अक्टोबर १ मा बिघटन हुने

   May 8, 2026  

न्युजिल्याण्डको वर्तमान संसद (प्रतिनिधि सभा) आगामी अक्टोबर १ गते बिहीबार औपचारिक रूपमा बिघटन हुने भएको छ। ५४ औँ प्रतिनिधि सभाको कार्यकाल अक्टोबर १ सम्म रहेकाले सोही दिन संसद् बिघटन गरिने जनाइएको हो। ५ डिसेम्बर २०२३ बाट सुरु भएको यस संसद्को अवधि पूरा तीन वर्ष नपुग्दै बिघटन हुन लागेको हो।

संसद् बिघटनपछि आगामी नोभेम्बर ७ गते हुने आम निर्वाचनबाट नयाँ संसद् अर्थात् ५५ औँ प्रतिनिधि सभा गठन हुनेछ। अक्टोबर ४ गते निर्वाचन प्रक्रिया सुरु गर्न निर्वाचन आदेशपत्र (Writs) जारी गरिनेछ।

निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने अन्तिम म्याद अक्टोबर ८ गते दिउँसो १२ बजेसम्म तोकिएको छ। यसैगरी, अग्रिम मतदान (Advance Voting) अक्टोबर २६ गते बाट सुरु हुनेछ भने निर्वाचन आदेशपत्र फिर्ता गर्ने अन्तिम मिति डिसेम्बर ३ गते तोकिएको छ।

संविधानअनुसार, वर्तमान संसद्को म्याद समाप्त वा बिघटन भएको सात दिनभित्र गभर्नर–जनरलले निर्वाचनका लागि निर्वाचन आदेशपत्र (Writs) जारी गर्नुपर्ने व्यवस्था छ। संविधान ऐन १९८६ को धारा १७ अनुसार, प्रतिनिधि सभाको कार्यकाल अघिल्लो आम निर्वाचनका लागि जारी गरिएका निर्वाचन आदेशपत्र फिर्ता भएको मितिदेखि तीन वर्षसम्म मात्र कायम रहन्छ। सन् २०२३ को आम निर्वाचनका लागि जारी आदेशपत्रहरू नोभेम्बर ९, २०२३ मा फिर्ता गरिएका थिए। त्यसका आधारमा, यदि समयअघि बिघटन नगरिएमा ५४ औँ प्रतिनिधि सभा सोमबार, नोभेम्बर ९, २०२६ मा स्वतः समाप्त हुनेछ।

न्युजिल्याण्डको संसदमा कुल १२० सिटका लागि नोभेम्बर ७ मा निर्वाचन हुने छ। निर्वाचन प्रणालीअनुसार ७२ जना सदस्य समानुपातिक प्रणालीमार्फत निर्वाचित हुने छन् भने बाँकी ४८ जना सदस्य राजनीतिक दलहरूको बन्दसूची (Party List) का आधारमा निर्वाचित हुने व्यवस्था रहेको छ।