न्युजील्याण्डले विश्व स्वास्थ्य संगठन World Health Organization (डब्ल्यूएचओ) बाट बाहिरिने सम्भावनालाई पूर्ण रूपमा नकार्न नसकिने विदेशमन्त्री तथा उपप्रधानमन्त्री विन्स्टन पिटर्सले संकेत दिएका छन्। डब्ल्यूएचओमा न्युजील्याण्डका करदाताको रकम जिम्मेवार ढंगले प्रयोग भइरहेको छ कि छैन भन्ने विषयमा गम्भीर समीक्षा आवश्यक रहेको उनको भनाइ छ।
पिटर्सले सामाजिक सञ्जाल एक्स (X) मा लेखेको टिप्पणी अमेरिकाले डब्ल्यूएचओबाट औपचारिक रूपमा सदस्यता फिर्ता लिएपछि आएको हो। उनले लेखेका छन्, “निर्वाचित नभएका विश्वव्यापी नौकरशाहहरू जब करदाताको पैसाप्रति जवाफदेही हुँदैनन्, त्यतिबेला यस्तै अवस्था आउँछ।” अमेरिकाको कदमले डब्ल्यूएचओको वर्तमान अवस्था, प्रभावकारिता र न्युजील्याण्डका करदाताको पैसा विदेशमा सही रूपमा खर्च भइरहेको छ कि छैन भन्ने प्रश्न उठाएको पिटर्सको भनाइ छ।
सोमबार ‘मर्निङ रिपोर्ट’ कार्यक्रममा बोल्दै पिटर्सले डब्ल्यूएचओ अत्यधिक फुलेको संस्था बनेको र आफ्नो मूल दायित्वअनुसार काम गर्न नसकेको आरोप लगाए। “उनीहरूले आफ्नो प्रारम्भिक म्यान्डेट, सीमा र जिम्मेवारी बिर्सिएका छन्,” पिटर्सले भने, “त्यसैले फन्डिङको विषयमा प्रश्न उठाउनु हाम्रो अधिकार हो।”
उनका अनुसार डब्ल्यूएचओको सदस्य हुन न्युजील्याण्डलाई वार्षिक रूपमा लाखौँ डलर खर्च लाग्ने गर्छ। पिटर्सले डब्ल्यूएचओले धेरैपटक लोकतान्त्रिक राष्ट्रहरूसँग परामर्श नै नगरी निर्णय र निर्देशन दिने प्रयास गरेको पनि आरोप लगाए। “उनीहरूको काम भनेको विश्वभरिका करदाताको सेवक भएर प्रभावकारी र उत्तरदायी रूपमा काम गर्नु हो,” उनले जोड दिए।
यसैबीच, अमेरिकाले गत साता कोभिड–१९ महामारीका क्रममा भएका ‘गम्भीर असफलता’ र आफ्ना राष्ट्रिय हितविरुद्ध पटक–पटक काम गरेको आरोप लगाउँदै डब्ल्यूएचओबाट औपचारिक रूपमा बाहिरिने निर्णय गरेको थियो। अमेरिकाको यो कदमपछि डब्ल्यूएचओको भविष्य, विश्वव्यापी स्वास्थ्य शासन र सदस्य राष्ट्रहरूको योगदानबारे अन्तर्राष्ट्रिय बहस थप चर्किएको छ।