बालेनको सुदूरपश्चिम टुर: नेपालगञ्ज विमानस्थलमा समर्थकको भीड – New Zealand News Nepal (NZ News Nepal)

बालेनको सुदूरपश्चिम टुर: नेपालगञ्ज विमानस्थलमा समर्थकको भीड

   January 26, 2026  

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह सुदूरपश्चिम दौडाहाका क्रममा सोमबार नेपालगञ्ज पुगेका छन्। चुनावी प्रचारप्रसारका लागि नेपालगञ्ज आएका बालेनलाई स्वागत गर्न विमानस्थलमा नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य भीड देखिएको थियो।

नेपालगञ्ज विमानस्थलमा समर्थक र स्थानीय अगुवाहरूले बालेनको भव्य स्वागत गरेका थिए। उनलाई एक झलक हेर्न सर्वसाधारणको घुँइचो लागेको थियो। बालेनको आगमनसँगै नेपालगञ्जको राजनीतिक माहोल थप तातेको देखिएको छ।

नेपालगञ्जबाट बालेन आजै बर्दियातर्फ प्रस्थान गरेका छन्। बर्दिया–१ का रास्वपा उम्मेदवार ठाकुरसिंह थारूको चुनावी प्रचारका लागि उनी बर्दिया जान लागेका हुन्। थारूका अनुसार बर्दियाका विभिन्न गाउँहरूमा भेटघाट तथा प्रचार कार्यक्रम तय गरिएको छ।

ठाकुरसिंह थारू यसअघि नागरिक उन्मुक्ति पार्टीमा रहेकामा हाल रास्वपाबाट उम्मेदवार बनेका हुन्। सुदूरपश्चिम क्षेत्रमा बालेनको सक्रियताले रास्वपाको चुनावी अभियानलाई थप बल पुगेको पार्टी नेताहरूको भनाइ छ।

बालेन आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका छन्। उनी सो क्षेत्रमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा उत्रिँदै छन्।