साढे चार महिनापछि ओलीको स्पष्टीकरण: जेनजी आन्दोलनमा गोली चलाउने आदेश दिएको थिइनँ

255 Shares

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साढे चार महिनापछि जेनजी आन्दोलनका क्रममा आफू नेतृत्वको सरकारले गोली चलाउने आदेश नदिएको पुनः दोहोर्‍याएका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत लामो स्टाटस सार्वजनिक गर्दै उनले त्यस दिन सरकारको आदेशमा गोली नचलेको र आफूले त्यस्तो आदेश नदिएको दाबी गरेका हुन्।

ओलीले सुरक्षाकर्मीहरू सरकारको आदेशभन्दा पनि कानुनको शपथ अनुसार परिचालित हुने उल्लेख गर्दै संसारका जुनसुकै देशमा पनि प्रमुख संवैधानिक अंगहरूको सुरक्षाका लागि सुरक्षाकर्मीहरू चौबीसै घण्टा हतियारसहित ‘कमब्याट पोजिसन’मा रहने बताए। ‘त्यस दिन पनि सरकारको आदेशमा गोली चलेको होइन, सरकारले आदेश दिएको पनि होइन,’ उनले लेखेका छन्।

उनका अनुसार माइतीघरमा भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले कुनै बल प्रयोग गरेको थिएन। नयाँ बानेश्वरको निषेधित क्षेत्र तोडिँदासम्म पनि गोली नचलेको उनले जिकिर गरेका छन्। ‘माइतीघरको शान्तिपूर्ण प्रदर्शनमा बल प्रयोग भएको थियो ? थिएन। बानेश्वरको निषेधित क्षेत्र तोडिँदासम्म गोली चलेको थियो ? थिएन,’ ओलीले उल्लेख गरेका छन्।

केही दिनदेखि आफूले तत्कालीन प्रधानमन्त्रीको हैसियतमा गोली चलाउने आदेश दिएको भन्दै निराधार हल्ला फैलाइएको भन्दै ओलीले आपत्ति जनाएका छन्। ‘हाम्रो संविधानले कुनै पनि प्रधानमन्त्रीलाई आफ्नै नागरिकमाथि गोली चलाउन आदेश दिने अधिकार दिएको छैन, र त्यस्तो आदेश मैले कहिल्यै दिएको पनि छैन,’ उनले बताएका छन्।

उनले त्यतिबेला घुसपैठको सम्भावना देखिएकाले माइतीघर क्षेत्रमा प्रदर्शन रोक्ने निर्णय गरिएको तर युवाहरूले शान्तिपूर्ण सभाको अनुमति मागेपछि प्रशासनले सहजै अनुमति दिएको दाबी गरेका छन्। आफूले अघिल्लो दिन नै जेनजी आन्दोलनमा सहभागी युवाहरू अनुशासित र सचेत रहेको सार्वजनिक रूपमा भनेको पनि ओलीले स्मरण गराएका छन्।

तर, योजनाबद्ध रूपमा केही समूहले बालबालिका तथा स्कुल ड्रेसमा रहेका विद्यार्थीहरूलाई अगाडि राखेर संसद् भवनतर्फ लैजान खोजिएको उनको आरोप छ। ‘उनीहरूलाई थाहा थियो संसद् भवन आक्रमणको अवस्थामा सुरक्षाकर्मीहरूले कानुनअनुसार बल प्रयोग गर्नैपर्छ,’ ओलीले भनेका छन्।

ओलीले आफ्नो राजीनामापछि सिंहदरबार, राष्ट्रपति भवन, सर्वोच्च अदालत लगायतका संरचनाहरूमा आगजनी भएको दाबी गर्दै यसबारे खुलेर बहस गर्न आफू तयार रहेको बताएका छन्। ‘म खुला रूपमा कुनै पनि मञ्चमा बसेर यस विषयमा उत्तर दिन तयार छु,’ उनले भनेका छन्।

अन्त्यमा ओलीले प्रश्न उठाएका छन्—‘माइतीघरको शान्तिपूर्ण प्रदर्शनबाट ती युवाहरूलाई संसद् भवनजस्तो संवेदनशील र कानुनले बल प्रयोग गर्नैपर्ने स्थानतर्फ कसले, किन र कसरी लग्यो ? यस प्रश्नको जवाफ पनि खोजिनुपर्छ।’

सम्बन्धित समाचार

सबै