न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले भारतसँगको स्वतन्त्र व्यापार सम्झौता (FTA) आप्रवासन बढाउने भन्ने विदेशमन्त्री विन्स्टन पिटर्सको दाबीलाई अस्वीकार गरेका छन्। प्रधानमन्त्री लक्सनले पिटर्सको मूल्याङ्कन गलत रहेको भन्दै सम्झौताले न्युजील्याण्डको श्रम बजारमा ठूलो दबाब पार्ने कुनै आधार नभएको बताएका हुन्।
प्रधानमन्त्री लक्सनलाई पिटर्सले उक्त सम्झौताले भारतबाट ठूलो संख्यामा मानिस न्युजील्याण्ड आउने अवस्था सिर्जना गर्ने र यसले रोजगारी बजारमा दबाब बढाउने आशंका व्यक्त गरेपछि प्रतिक्रिया दिन सोधिएको थियो। लक्सनले सम्झौताबारे आफू र पिटर्सको दृष्टिकोण फरक रहेको बताउँदै भने, “उनले चीनसँगको एफटीएको पनि विरोध गरेका थिए। त्यो बेला पनि उनी गलत थिए, यस पटक पनि गलत छन्।”
सम्झौता सार्वजनिक हुँदा न्युजील्याण्ड फर्स्टका नेता पिटर्सले यसलाई ‘न्युजील्याण्डका लागि खराब सम्झौता’ भन्दै आफ्नो दलको समर्थन नदिएको घोषणा गरेका थिए। उनको दलले National पार्टीले भारतलाई श्रम बजारमा अष्ट्रेलिया वा बेलायतले आफ्नो एफटीएमा दिएको भन्दा धेरै पहुँच दिएको आरोप लगाउँदै यसलाई ‘गहिरो रूपमा अविवेकी’ निर्णय भनेको थियो। पिटर्सले भारतका नागरिकका लागि विशेष रोजगारी भिसा सिर्जना गरिँदा कडा श्रम बजारको अवस्थामा आप्रवासन चासो झन् बढ्ने चेतावनी दिएका थिए।
बुधबार बिहान हेराल्ड नाउसँग कुरा गर्दै पिटर्सले “जनतालाई सत्य कुरा बताइएको छैन” दाबी गरे। उनले सम्झौताले दशौँ हजार मानिस न्युजील्याण्ड आउने र यसले स्थानीय कामदारका अवसर खोसिने जोखिम रहेको बताए।
तर प्रधानमन्त्री लक्सनले ती दाबीहरूलाई खारेज गर्दै व्यापार मन्त्री टोड म्याक्लेले सम्झौतामा “कुनै पनि देशका दशौँ हजार मानिसलाई न्युजील्याण्ड आउने अधिकार दिने” प्रावधान नभएको स्पष्ट पारे। म्याक्लेले भने, “सम्झौताअन्तर्गत अर्थतन्त्रलाई आवश्यक १,६७० जना दक्ष कामदार मात्रको प्रतिबद्धता छ।” उनले थपे कि न्युजील्याण्ड प्रवेशका सर्तहरू क्याबिनेटले तय गर्नेछन्, व्यापार सम्झौताले होइन।