लक्सनले ‘गलत’ भनेपछि पिटर्सको कडा जवाफ: सम्झौताले आप्रवासन विस्फोट गराउने चेतावनी

221 Shares

प्रधानमन्त्री क्रिस्टोफर लक्सनले आफू गलत भएको टिप्पणी गरेपछि विदेशमन्त्री विन्स्टन पिटर्सले भारतसँगको स्वतन्त्र व्यापार सम्झौता (FTA) सम्बन्धी गम्भीर प्रश्न उठाउँदै विस्तृत प्रतिक्रिया दिएका छन्। पिटर्सका अनुसार भारतसँगको एफटीएबारे धेरै चर्चा भए पनि त्यसका न्युजील्याण्डमा पर्ने परिणामबारे गहिरो बुझाइ देखिँदैन।

पिटर्सले भारतीय सरकारले आफैं उक्त एफटीएलाई भारतीय पेशेवर तथा विद्यार्थीहरूका लागि “अभूतपूर्व आवागमन अवसर” उपलब्ध गराउने सम्झौता भनेर वर्णन गरेको स्मरण गराए। भारतीय नागरिकलाई दिइने अस्थायी रोजगारीका अवसरहरू पनि अहिलेसम्मकै अभूतपूर्व भएको भारतीय पक्षको भनाइ रहेको उनले बताए। उनका अनुसार भारतलाई अस्थायी रोजगारी भिसामा न्युजील्याण्डले दिएको प्रस्ताव कुनै पनि अन्य एफटीए साझेदारभन्दा बढी उदार छ।

“हामी केवल यति प्रश्न गरिरहेका छौँ—भारतसँग आप्रवासनको मामिलामा किन अन्य सबै एफटीए साझेदारभन्दा बढी उदार भयौँ? स्वतन्त्र व्यापार सम्झौता हुनुपर्ने विषय किन स्वतन्त्र आप्रवासन सम्झौताको जस्तो केन्द्रबिन्दु बनाइयो?” पिटर्सले प्रश्न गरेका छन्।

उनले उल्लेख गरेको ५,००० को संख्या कुनै एक समयमा एफटीएअन्तर्गत न्युजील्याण्ड प्रवेश गर्ने भारतीय नागरिकको संख्या भएको स्पष्ट पारे। ती भिसाधारकले आफ्ना श्रीमान्/श्रीमती र बालबच्चा पनि साथमा ल्याउन सक्ने भएकाले औसत परिवार चार जनाको मान्दा कुनै एक समयमा करिब २०,००० मानिस न्युजील्याण्डमा हुने अवस्था सिर्जना हुने उनको तर्क छ। यो नयाँ भिसा विशेष रूपमा भारतीय नागरिकका लागि मात्र सिर्जना गरिएको पिटर्सको भनाइ छ।

यदि राष्ट्रिय पार्टीले सम्भावित भिसाधारकको संख्या यति धेरै नहुने दाबी गरिरहेको छ भने के भारतबाट आउनेहरूलाई आफ्ना श्रीमान्/श्रीमती र बालबच्चा ल्याउन प्रतिबन्ध लगाइने हो? भन्ने प्रश्न पनि पिटर्सले उठाएका छन्।

उनले थपे कि भारत सरकारको प्रमुख उद्देश्य नै न्युजील्याण्डतर्फ थप आप्रवासन प्रोत्साहन गर्नु भएकाले भारतबाट न्युजील्याण्ड आउने आवेदनहरू समग्र रूपमा उल्लेखनीय रूपमा बढ्नेछन्। यसमा काम गर्ने अधिकारसहितको सीमा नराखिएको विद्यार्थी आप्रवासन पनि पर्नेछ, जसले ‘किवी’ कामदारका रोजगारी किवीहरूमै नआउने जोखिम बढाउने उनको चिन्ता छ।

पिटर्सका अनुसार कठिन आर्थिक अवस्थामा न्युजील्याण्डमा समग्र आप्रवासनको स्तर पहिल्यै धेरै उच्च भइसकेको छ। एफटीए र भारतमा त्यसको प्रचार–प्रसार हेर्दा आगामी वर्षहरूमा भारतबाट न्युजील्याण्डतर्फ झनै धेरै आप्रवासन हुने संकेत देखिन्छ।

“यस विषयमा न त न्युजील्याण्ड फर्स्ट गलत छ, न त भारतीय सरकार नै,” पिटर्सले स्पष्ट पारे।

सम्बन्धित समाचार

सबै