ताजा अपडेट

अकल्याण्ड सिटी रेल अन्तिम चरणमा, यसै वर्षदेखि सञ्चालनमा आउने

233 Shares

न्युजील्याण्डको इतिहासकै सबैभन्दा ठूलो यातायात पूर्वाधार परियोजना Auckland City Rail Link (CRL) अब सञ्चालनको अन्तिम चरणमा पुगेको छ। अकल्याण्ड सहरको मुटुमै निर्माण गरिएको ३.४५ किलोमिटर लामो दोहोरो भूमिगत रेल सुरुङले सहरको रेल यातायात प्रणालीलाई पूर्ण रूपमा रूपान्तरण गर्ने अपेक्षा गरिएको छ।

सिटी रेल लिंकले हालको ब्रिटोमार्ट स्टेशनलाई ‘डेड–एन्ड’ टर्मिनलबाट ‘थ्रु–स्टेशन’ मा रूपान्तरण गर्दै रेलहरूलाई सिधै सहरभित्र प्रवेश र बाहिर निस्कन सक्ने बनाउँछ। यस परियोजनाले वाइटेमाटा स्टेशनलाई माउन्ट इडेन स्टेशनसँग जोड्दै अकल्याण्डको सम्पूर्ण रेल नेटवर्कको क्षमता उल्लेखनीय रूपमा बढाउनेछ।

परियोजनाअन्तर्गत सहरको केन्द्रमा दुई नयाँ अत्याधुनिक भूमिगत स्टेशन निर्माण गरिएको छ। ते वाइहोरोतिउ (अओटिया) स्टेशन र करङ्गा–आ–हापे स्टेशनले सिटी सेन्टर, करङ्गाहापे रोड र आसपासका व्यापारिक तथा आवासीय क्षेत्रलाई प्रत्यक्ष रेल पहुँच प्रदान गर्नेछन्। यी स्टेशनहरू गहिराइमा निर्माण गरिएका छन् र भविष्यमा लामो तथा क्षमतायुक्त रेल सञ्चालन गर्न मिल्ने गरी डिजाइन गरिएका छन्।

सन् २०१६ बाट प्रारम्भिक काम सुरु भएको यो परियोजनामा हाल सुरुङ, ट्र्याक र मुख्य संरचनाहरूको निर्माण सम्पन्न भइसकेको छ। सन् २०२५ को सुरुदेखि नै परीक्षण रेलहरू सुरुङभित्र सञ्चालन भइसकेका छन् भने व्यापक प्रणाली परीक्षणपछि २०२६ को दोस्रो भागमा यात्रु सेवाका लागि खोलिने योजना रहेको छ।

झण्डै ५.४९ अर्ब न्युजील्याण्ड डलर लागत अनुमान गरिएको सिटी रेल लिंक परियोजना न्युजील्याण्ड सरकार र अकल्याण्ड काउन्सिलको संयुक्त लगानीमा निर्माण भइरहेको हो। सञ्चालनमा आएपछि यसले रेल सेवाको आवृत्ति बढाउने, यात्रा समय छोट्याउने, सडक जाम कम गर्ने र वातावरणमैत्री सार्वजनिक यातायातलाई प्रोत्साहन गर्ने विश्वास गरिएको छ।

विशेषज्ञहरूका अनुसार सिटी रेल लिंक केवल यातायात परियोजना मात्र नभई अकल्याण्डको शहरी विकास, आर्थिक गतिविधि र भविष्यको दिगो सहर निर्माणको मेरुदण्ड सावित हुनेछ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै