भारत र एसिया यात्रा गर्ने न्युजिल्याण्डवासीलाई सतर्क रहन आग्रह – New Zealand News Nepal (NZ News Nepal)

भारत र एसिया यात्रा गर्ने न्युजिल्याण्डवासीलाई सतर्क रहन आग्रह

   January 31, 2026  

भारत तथा एसियाली मुलुकतर्फ यात्रा गर्ने न्युजिल्याण्डवासीलाई निपाह भाइरसको जोखिमलाई ध्यानमा राख्दै यात्रा गर्न सुझाव दिइएको छ। भाइरस फैलिन नदिन एसियाका धेरै विमानस्थलहरूले यात्रुहरूमा कोभिडकालजस्तै तापक्रम (थर्मल) जाँच सुरु गरेका छन्।

Ministry of Foreign Affairs and Trade (MFAT) ले आफ्नो SafeTravel वेबसाइटमार्फत निपाह भाइरससम्बन्धी जानकारी सार्वजनिक गरेको हो। थाइल्याण्डको एक विमानस्थलमा यात्रुहरू सुरक्षा जाँच हुँदै गर्दा ठूला स्क्रिनमा रियल–टाइम तापक्रम देखाइएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।

विमानस्थलहरूमा कडाइ

भारतले भाइरस नियन्त्रणमा आएको दाबी गरे पनि छिमेकी देशहरूले सतर्कता बढाएका छन्। इन्डोनेसियाको Gusti Ngurah Rai International Airport सहित थाइल्याण्ड, सिंगापुर, हङकङ, मलेसिया र नेपालका विमानस्थलहरूमा यात्रु जाँच सुरु भएको छ। भारतसँगका केही स्थल नाकामा पनि जाँच भइरहेको बीबीसीले जनाएको छ।

World Health Organization (WHO) का अनुसार हाल अन्तर्राष्ट्रिय फैलावटको जोखिम कम छ। न्युजिल्याण्डको स्वास्थ्य मन्त्रालय र Health NZ ले अवस्था नजिकबाट निगरानी गरिरहेको जनाएको छ। संयुक्त विज्ञप्तिमा, “न्युजिल्याण्ड आइपुग्ने कुनै पनि अस्वस्थ यात्रुको उचित जाँच र व्यवस्थापन गर्ने प्रणाली तयार छ,” भनिएको छ।

स्वास्थ्य मन्त्रालयले पछिल्ला केसहरूले महामारीको सम्भावना न्यून रहेको बताए पनि भारत यात्रा गर्नेहरूलाई अतिरिक्त सावधानी अपनाउन आग्रह गरेको छन्।